इलामः सूर्योदयको दृश्यावलोकनसँगै हरियाली चिया बगानमा रमाउन इलामको अन्तुमा पर्यटकको चाप बढे पनि पर्यटन पूर्वाधारको अभावमा पर्यटकले सास्ती भोग्नु परिरहेको छ ।

अन्तुमा दैनिक ७ हजारसम्म पर्यटक पुग्ने गरेका भए पनि पूर्वाधारको अभाव देखिन्छ । ग्रामीण पर्यटकीय स्थलको गन्तव्य बनेको अन्तुमा पार्किङस्थल, पदमार्ग, खानेपानी र सार्वजनिक शौचालयको अभाव रहेको छ । बिहान झिसमिसेमा सूर्योदय हेर्न जङ्गलको बाटो भएर जानुपर्ने भए पनि सडक बत्ती नहुँदा पनि पर्यटकलाई समस्या पर्ने गरेको छ ।

अन्तुमा दैनिक आउने पर्यटक त्यहाँ सञ्चालित घरबास (होमस्टे) मा अटाउँदैनन् । । होमस्टेमा अटाउन छोडेपछि पर्यटक त्रिपाल टाँगेरै भए पनि रात कटाउने गरेका छन् । अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेका अनुसार २० वर्ष अघिदेखि होमस्टेमा पर्यटकलाई स्वागत गरी पर्यटन प्रवद्र्धनमा अन्तुवासी जुटेका हुन् ।

त्यहाँ रहेका ४३ होमस्टे र १५ वटा लजमा २ हजार ५ सय पर्यटक अटाउने भए पनि शनिबार त्यो सङ्ख्याको दोब्बर पर्यटक पुग्न थालेपछि समितिले पाल टाँगेर पर्यटकलाई राख्ने गरेको छ । सूर्योदय र चिया बगानका साथै कञ्चनजङ्घाको सौन्दर्य अन्तुबाट देख्न सकिन्छ ।

पार्किङको पनि समस्या
अन्तुसम्म जाने सडक कालोपत्रे भएसँगै पर्यटकको चाप बढे पनि सवारी पार्किङस्थल नहुँदा समस्या भएको पर्यटकको भनाइ छ । त्यहाँ सानो पार्किङस्थल भए पनि सवारी नअटाएर सडक र स्थानीयवासीको घरआँगनमा पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ । अघिल्ला वर्षमा असोजदेखि बैशाखसम्म मात्रै पर्यटकको चाप हुने गरेको भए पनि अहिले भने वर्षभर नै पर्यटक यहाँ आउने गरेका छन् ।

पर्यटन व्यवसायी खगराज घिमिरेका अनुसार सूर्योदय नगरपालिकाको वडा नम्बर ४ र ५ मा पर्ने अन्तुडाँडा पर्यटकीय स्थलमा रहेको टावरमा प्रवेशका लागि नगरपालिकाले प्रतिपर्यटक ५० रुपैयाँ लिने गरेको छ । टावरको क्षमता ५ सय जना पर्यटक अटाउन सक्ने भए पनि पर्यटकको चाप बढेपछि धेरैजसो पर्यटक भुइँमै बसेर सूर्योदयको दृश्य हेर्ने गरेका छन् । अन्तुमा आन्तरिक पर्यटकका साथै भारत र भुटानका पर्यटक पनि पुग्ने गर्छन् ।

antu 2 pradeshportal