कैलालीः जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरूको महान चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलो रूपमा नगर्न आग्रह गरेको छ ।

विगत केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा त्यस्ता क्रियाकलाप नगर्न कार्यालयले आज एक सूचना जारी गर्दै आग्रह गरेको हो । आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवर्द्धन गर्नेबाहेक अन्य कुनै खालका खर्चिला तथा महँगा तीजसँग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न÷नगराउन सम्पूर्ण जिल्लावासीमा अनुरोध गरिएको छ ।

ऐन नियमको विपरीत हुने गरी कोही कसैले अनावश्यक भड्किलो रूपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रम गरे गराएमा कानूनबमोजिम कारबाही हुनेसमेत सूचनामा उल्लेख छ । साथै सुंसस्कार कायम गर्ने यस कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत सङ्घसंस्थाहरू, सञ्चारकर्मीहरू र महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरूबाट सहयोगको अपेक्षा गरिएको छ । -रासस