इटहरीः प्रदेश १ का १४ वटै जिल्लामा उत्पादन हुने प्रमुख बाली समेटेर तयार पारेको  ब्राण्ड, नाम र नारा समेटिएको लोगो प्रदेश सरकारलाई बुझाइएको छ । 

प्रदेश १ को पर्यटन विकासका लागि प्रदेश सरकार अन्तरगत पर्यटन तथा सँस्कृति मन्त्रालयद्वारा गठित समितिले पर्यटन विकासका लागि तयार पारिएको ब्राण्ड, नारा र लोगो समेटिएको प्रतिवेदन मन्त्रालयमा बुझाएको हो । मंगलबार पर्यटन ब्राण्ड नाम निर्माण कार्यदलले ५० दिन लगाएर तयार पारेको प्रतिवेदन मन्त्री खिनु लङ्वा लिम्बूलाई बुझाएको हो । मन्त्री लिम्बूले मन्त्रिस्तरीय निर्णयबाट गत असार १५ गते उक्त समिति गठन गर्ने निर्णय गरेकी थिइन् । समितिले तयार पारेको प्रतिवेदनमा प्रदेश १ का १४ वटै जिल्लाको प्रमुख उत्पादनलाई ब्राण्डका रुपमा प्रवद्र्धन गर्न मन्त्रालयलाई सिफारिस गरेको उल्लेख छ ।

जसअनुसार उदयपुरमा तेजपात, सुनसरीमा बेसार, ओखलढुंगामा राडीपाखी, खोटाङमा घंगरुको लौरो, धनकुटामा एभोकाडो, भोजपुरको खुकुरी, सोलुखुम्बुको बियाँ दाल, ताप्लेजुङको छुर्पी, संखुवासभाको अल्लो कपडा, पाँचथरको अलैंची, इलामको चिया, तेह्रथुमको ढाका कपडा, झापाको सुपारी र मोरङको माछालाई उत्पादन ब्राण्ड कायम गर्नुपर्ने समितिको प्रतिवेदनमा जनाइएको छ ।

त्यसैगरी ‘स्वर्ग यो प्रदेशभन्दा बाहिर छैन स्वर्ग यही प्रदेशमा छ, त्यसैले प्रदेश नं. १ को भ्रमण गरौं, स्वर्गको भ्रमण आफैँ हुनेछ’ भन्ने भावनालाई बोकेर तयार पारेको पर्यटन प्रतीक चिन्ह (लोगो) पनि सार्वजनिक गरिएको छ । समितिका संयोजक भविशकुमार श्रेष्ठले प्रदेश १ लाई ‘पृथ्वीको स्वर्ग–मेरो प्रदेश’ नामको पर्यटन नारासमेत सार्वजनिक गरे । उनले प्रदेश १ का १३७ वटै पालिका, जिल्ला समन्वय समिति र उद्योग वाणिज्य संघसँग समन्वय गरी मुख्य ब्राण्डको पहिचान गरिएको जानकारी दिए ।