इटहरीः तीजको दर ख्वाउने कार्यक्रम हिजोआज दैनिकजसो आयोजना हुन्छन् । धेरैले पार्टी प्यालेस र होटलमा हल बुकिङ्ग गरेरै तीजको दर ख्वाउने कार्यक्रम आयोजना गरिरहेको बेला महिला अधिकारको पक्षमा आवाज ओकलिरहेको महिला आधारशीला सुनसरीले भने इटहरीको निःसहाय बालबालिका सेवा आश्रममा तीजको दर ख्वाउने कार्यक्रम गरेर उदारताको उदाहरण प्रस्तुत गरेको छ ।
सँस्कार सहितको सँस्कति हटाऔँ सबै विकृति भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा महिला अधिकारका क्षेत्रमा अग्रणी भूमिका खेलिरहेका सुनसरीका महिलाहरुको उपस्थिति रहेको थियो । बाल आश्रममा आयोजना गरिएको तीजको दर खाने कार्यक्रममा प्रदेश १ को प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेलदेखि लिएर संविधानसभा सदस्य अनिता परियार अनि इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीताकुमारी चौधरी समेतको उपस्थिति रहेको थियो । महिला सञ्जाल इटहरीकी सल्लाहकार बिमला ढकाल सिवाकोटी लगायतका पदाधिकारी सम्मिलित तिजको दर खाने कार्यक्रममा अहिलेका तीजका कार्यक्रमहरु केही भड्किलो भइरहेको स्वीकार गरिएको छ ।
कार्यक्रममा बोल्दै विशेष अतिथिको रुपमा निम्त्याइएकी संविधानसभा सदस्य तथा महिला आधारशीला सुनसरीकी सल्लाहकार अनिता परियारले महिला आधारशीला सुनसरीले गरिरहेका महिला अधिकारका कामहरुको प्रशंसा गरेकी थिइन् । इटहरीको बाल आश्रमकी संस्थापक एवं अनाथ बालबालिकाकी आमा गीता गौतमले गरेको महान कामको प्रशंसा गर्दै परियारले तीज परम्परागत मूल्यमान्यताअनुसार वर्षभरिको दुःखसुख साट्दै मनाउने गर्नुपर्ने तर व्रत बस्दै श्रीमानको खुट्टाको पानी खाएर मात्रै श्रीमानको आयु लामो हुने कुरामा विश्वास नगरी श्रीमानले आफ्नो स्वास्थ्यप्रति आफैँ सचेत हुनुपर्ने भनाइ राखेकी थिइन् । एक महिनादेखि तीजका दर खाने कार्यक्रम हुने गरेकाले दिनैपिच्छे कुन सारी लगाएर जाने भन्ने चिन्ता बढ्ने गरेको र सोही विषयमा श्रीमानसँग झगडासमेत हुने गरेकाले तीजलाई भड्किलो नबनाई कसरी मनाउन सकिन्छ भने चिन्तन गर्ने बेला आएको संविधानसभा सदस्यसमेत रहेकी परियारको भनाइ थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै महिला सञ्जाल इटहरीकी सल्लाहकार बिमला ढकाल सिवाकोटीले तीज केही भड्किलो हुँदै गएको भएता पनि हरेक साँझ होटलमा बसेर खानेहरुको पनि ध्यान जान जरुरी भएको बताइन् । वर्ष दिनमा आउने तीज माइती घर जाने र पर्वको रुपमा आएको तीजलाई आज छड्के तिलहरी नभएको भन्दै झगडा गर्ने पर्वको रुपमा विकास भएको पनि उनले बताइन् । अब सँस्कार र सँस्कृति मनाउँदै सभ्य तीज मनाउनुपर्ने आजको आवश्यकता भएको उनले औँल्याइन् । इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीताकुमारी चौधरीले तीजलाई हामीले कसरी मनाउनुपर्ने हो सोही तरीकाले मनाउनुपर्ने र विकृति र विसंगतिलाई निरुत्साहित गर्दै आफूसँग जे छ, त्यहीबाट मात्रै तीज मनाउनुपर्ने बताइन् ।
कार्यक्रमकी प्रमुख अतिथि प्रदेश १ को प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेलले अनाथ आश्रमका बालबालिकासँग तीज मनाउने कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिएकी थिइन् । सँस्कार र सँस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताउँदै उपसभामुख पोखरेलले विकृति तीजमा भएपनि सबैतिर नभएको बताइन । आमाले औँला भाँचेर कहिले तीज आउँछ भनेर बाटो हेरेर बस्नुपर्ने पर्वको रुपमा सुरु भएको बताउँदै आज धेरै सँस्थाहरुले तीजको दर खाने कार्यक्रमको आयोजना गर्दा माइतीको छनक दिने गरेको र सबैतिर विकृति नभएपनि गहना, कपडा लगायतका केही कुरामा विकृति बढेकोसमेत बताइन् ।
कार्यक्रमको सभापतित्व गरेकी निःसहाय बालबालिका सेवा आश्रम इटहरीकी आमा गीता गौतमले अनाथको आश्रममा आएर तीज मनाइदिएकोमा आयोजकलाई धन्यवाद व्यक्त गरेकी थिइन् । महिला आधारशीला सुनसरीकी अध्यक्ष शुशीला उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा कल्पना लिम्बूले स्वागत गरेकी थिइन् भने अनाथ आश्रमका बालबालिकाले नृत्य प्रस्तुत गरेर सम्पूर्ण अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी शारदा श्रेष्ठ, पुनम थापामगर, त्यसैगरी नेपाली कांग्रेसकी सुनसरी जिल्ला सदस्य गीता श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नगर उपाध्यक्ष कविन्द्र केसी लगायतको उपस्थिति रहेको थियो ।