कथा एउटी सानी नानीको हो । देखे सुनेका आधारमा संकलन गरेको छु । कथा यस प्रकार छः

एकाबिहानै घरैनिर पण्डित बा बोलेको सुनिएपछि किन, के कामले, कस्कोमा आउनुभएको रहेछ ? यसो कुरा बुझ्नुपर्यो भनेर पल्लो घरकी सानी नानी बाहिर निस्किइन् । पण्डित बाले उनलाइ देख्नेबित्तिकै प्रश्न गरिहाले – ‘ए नानी बुबा खोइ ?’ नानीले ‘बुबा त घरमा हुनुहुन्न । हँसियाको दाँत बनाउन र कोदालीमा पाइन हाल्न आरन भएतिर जानुभाको छ ।’ भनिन् । ‘आमा नि ?’ पण्डित बाले फेरि सोधे । उनले ‘आमा पनि बारीमा साग टिप्दै हुनुहुन्छ’ भनिन् ।

पण्डित बाृको बोली सुनेर होला, सानी नानीका बुबा हतारहतार माथिको तलाबाट ओर्लेर पण्डित बालाई दर्शन गर्दै ‘म त यतै घरमै छु । म सन्ध्या वन्दन र पितृलाइ तर्पण पानी दिदै थिएँ । यो केटी पनि के के भन्छे ? किन झुट्टो बोलेको ?’ भन्दै छोरीलाइ गाली गर्नुभयो । त्यति नै बेला आमा पनि भित्रबाट आएर मलाई नै दोषी देखाएर म त मोही पारेर घिउ निकाल्दै पो थिएँ त । यो केटी के के भन्छे भन्छे ?’ भनेर नाबालक छोरीको मनोबल गिराउने काम गर्नुभयो ।

झट्ट हेर्दा यो सानी केटी त झुट्टो बोल्दिरहिछे भन्ने देखियो । फेरी स्पष्ट पारुँ भने बा आमा गलत हुृनुहृनेभयो । जे होस्, देखे जानेको त भन्नैृपर्यो भन्ने लाग्यो क्यारे । अनि बुबालाई  भन्न लागिन् – ‘बुबा ! तपाईँ सन्ध्या वन्दन र तर्पण गर्ने बेला हँसियाको दाँत कटाउन, खुकुरी, बञ्चरो, कोदालो, खुर्पामा पाइन हाल्न र धार लगाउन साँल्दाइको आरनमा जाने कुरा सम्झिँदै तर्पण दिने तथा गायत्री मन्त्र जप्ने गर्नुभएको होईन र ? मन त त्यहाँ थिएन नि । त्यसैगरी आमा पनि हातले मदानीको पोराबाट घिउ निकाले पनि मन त सागबारीमा साग टिप्दै थिएन र ?’ अब त आमाबुबा दुवै जना कहिले सानी नानीतिर अनि कहिले पण्डित बातिर अवाक भएर हेर्न थाल्नुभयो ।

अब पण्डित बा भन्दै हुनुहुन्थ्यो – ‘तपाईँ हामी जहाँ जे काम गर्दै हुन्छौँ त्यहीँ समर्पित भएर गर्नुपर्छ । निदाउने र कुनै काम गर्ने एकैचोटी नभएजस्तै कुनै पनि दुई प्रकृतिका काम एकैचोटी गर्न सम्भव हँुदैन । आरन जानुपर्ने कुरा सम्झेर तर्पण पानी दिँदा पितृको वास्तविक स्मरण भयो र ? पितृले पाउने भए पनि अब पाउने सम्भावना होला, नहोला ? कुनै पनि काम समर्पण भावले केन्द्रित भएर गरे मात्र सफल हुन्छ । काम कुनै ठूलो वा सानो हुँदैन । नानीले भनेको कुरा ठीकै हो । मनमा अनावश्यक कुरा खेलाउँदै हिँड्दा बाटोमा ठेस लागेर लडेको पत्तै हँुदैन ।’ अब भने म मख्ख  !!! तपाईं नि ???