काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल एक पटक घुम्नै पर्ने मुलुक हो भनेर विश्वका बौद्ध समुदायमाझ प्रचार गर्न अत्यावश्यक रहेको बताएका छन् । 

धर्मोदय सभाको ७७ औं केन्द्रीय वार्षिक साधारण सभालाई हिजो यहाँ सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन प्रवर्द्धनको अहिलेको तौरतरिका बदलेर नेपाल हिमाल हेर्न र पदयात्रा गर्न मात्रै हैन बाह्रै महिना घुम्न सकिने साँस्कृतिक सम्पदायुक्त मुलुक पनि हो भनेर प्रचारात्मक अभियान थालिनु पर्नेमा जोड दिए ।

समाजमा विद्यमान अन्तरविरोध, तनाव र अस्वस्थ प्रतिस्पर्धालाई शान्तिमा रूपान्तरण गर्न बुद्धका सन्देशलाई व्यापक बनाउनुपर्ने उनको भनाइ थियो । 

उक्त साधारण सभामा बुद्ध धर्मको अध्ययन गरी खेन्पो (विद्यावारिधि) उपाधि हासिल गरेका तीन भिक्षु तथा भिक्षुणीलाई अभिनन्दन गरिएको थियो । -रासस