झापाः झापा र इलामको पर्यटकीय स्थलको अध्ययनका लागि भारतीय सञ्चारकर्मीको टोली झापा आइपुगेको छ । कोलकता प्रेस क्लबका वरिष्ठ सदस्य एवम् प्रजाशक्ति दैनिक पत्रिकामा आबद्ध पत्रकार सन्दीय चक्रवर्तीको नेतृत्वमा कोलकातामा रहेर पत्रकारिता गरिरहेका सञ्चारकर्मीको टोली झापा आइपुगेको हो ।
तीन सदस्यीय सो टोलीका अन्य सदस्यमा भारतीय सरकारी सञ्चारमाध्यम दूरदर्शन र अल इण्डिया रेडियोमा कार्यरत अभिजित चक्रवर्ती र द इकोनोमिक्समा कार्यरत श्रावणी बेनर्जी रहेकी छिन् ।
जिल्ला ट्राभल सङ्घ झापाले नेपाल आइपुगेका तीन भारतीय पत्रकारलाई स्वागत तथा सम्मान गर्नुका साथै पर्यटन व्यवसायी र नेपाली पत्रकारबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सङ्घका अध्यक्ष नीरबहादुर कार्कीले काँकरभिट्टा नाकाले भुटान, भारत र बङ्गलादेशलाई जोडेको र यी ठाउँमा पर्यटनका प्रचुर सम्भावना रहकाले पर्यटकलाई आर्कषण गर्न सक्ने कार्यक्रम ल्याउन जोड दिए ।
सलकपुरमा होमस्टेको सम्भाव्यता अध्ययन गरिने
भारतीय टोलीका नेता चक्रवर्तीले झापा तथा इलामको सीमा क्षेत्रमा पर्ने सलकपुर क्षेत्रको होमस्टे र पर्यटकीय सम्भावनाको स्थलगत अवलोकन गर्ने विशेष कार्यक्रम लिएर नेपाल आएको बताए । उनले नेपाल र भारतको उद्योग व्यवसायलाई समेत पर्यटनसँग जोड्न सकिने बताए । दुवै देशका उद्योगी व्यवसायी, पर्यटन व्यवसायी र सञ्चारकर्मीबीच सूचना आदानप्रदान गर्नु अत्यवश्यक रहेको उनको भनाइ थियो ।
पर्यटन क्षेत्रको विकास गर्न सके स्थानीयले रोजगारको अवसर समेत प्राप्त गर्ने र अहिले जसरी रोजगारको अवसर खोज्दै विदेश जाने नेपालीको सङ्ख्या कम हुने चक्रवर्तीले विश्वास व्यक्त गरे ।
‘मैले सुनेको छु भारत र नेपाल जङ्गली हात्तीको पीडाबाट अछुतो छैनन्’, उनले भने, ‘तर, हात्तीबाट पनि पर्यटक आकर्षण गर्न सकिन्छ ।’ तर हरेक कुरा वातावरण र पर्यटनमैत्री हुनुपर्ने उनको तर्क थियो ।
चक्रवर्तीले नेपाली पर्यटनका विषयमा सकरात्मक रिपोर्ट र डकुमेन्ट्री तयार पारेर नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा सघाउने धारणा व्यक्त गरेका थिए । उनले विश्वको अग्लो सर्वाेच्च शिखर सगरमाथा समेत रहेकाले पूर्वी नेपाल विश्वकै सबैभन्दा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताए । भारतका विभिन्न ठाउँबाट नेपाल घुम्न आउने पर्यटकले नेपालको तुलनामा बास बस्न तथा खानपिनका लागि भारत नै सस्तो भएको भन्दैं भारतकै लज तथा होटलमा रात बिताउने गरेको भारतीय टोलीको भनाइ छ ।
चक्रवर्ती भन्छन्, ‘एक रात काँकरभिट्टामा बिताउने पर्यटक बरु सिक्किम गएर बास बस्न खोज्छन् कारण नेपालमा महङ्गो छ भन्ने एक खालको सोचाइ छ ।’ चित्रकलाका माध्यमबाट पर्यटकलाई आकर्षण गर्न सक्नुपर्ने उनले बताए ।
कार्यक्रममा नेपाली पर्यटन व्यवसायी तथा जिल्ला ट्राभल सङ्घ झापाका प्रमुख सल्लाहकार संयोजक शङ्कर भटट्राई, अध्यक्ष निरबहादुर कार्की, देही आर्टका प्रमुख चित्रकार छितेन शेर्पालगायतले नेपालका पर्यटकीय गन्तव्यका बारेमा भारतीय टोलीलाई जानकारी गराएका थिए ।
सङ्घका अध्यक्ष कार्कीका अनुसार भारतीय पत्रकारको टोलीले मेचीनगर–४ स्थित बाहुनडाँगी हुँदै सलकपुर, इलामको कन्याम, सन्दकपुर र झापाका केही पर्यटकीय क्षेत्रमा पुगेर स्थलगत अवलोकन गर्नेछ ।