इटहरीः मादक पदार्थ सेवन गरेर जथाभावी गालीगलौज गरेपछि इटहरी उपमहानगरपालिका वडा नम्बर १० कांग्रेस सभापतिलाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ २५ गते राति मादक पदार्थ सेवन गरेर स्थानीय सोनम अधिकारीको घरमा गरेर धम्की दिँदै गालीगलौज गरेपछि इटहरी १० का कांग्रेस सभापति प्रकाश कोइरालालाई प्रहरीले पक्राउ गरेको बताइएको छ । 

कोइरालाले गत भदौ २५ गते राति १०ः०० बजे हाराहारीको समयमा अधिकारीको घरमा गएर मेयर र डिएसपी मेरा मान्छे हुन भन्दै धम्की दिएको पीडितले बताएका छन् । 

गालीगलौजको उजुरी आएपछि कोइरालालाई पक्राउ गरी सोधपुछ भइरहेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी खगेन्द्रबहादुर खड्काले पुष्टि गरेका छन् । 

‘रातको समयमा घरमै आएर आमामाथि अश्लील शब्द प्रयोग गर्ने र कुटपिट गर्न खोजेपछि प्रहरीमा उजुरी गरेका हौँ, कति दिन सहने ?’ पीडितका छोरा संजोग अधिकारीले भनेका छन् । 

असह्य भएपछि २६ गते बिहान इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी गरेको उनले बताए । गत स्थानीय तहको निर्वाचनमा अधिकारी कांग्रेसबाट वडा सदस्यमा उठेका थिए । सोही रिसइबी साँधेको हुनसक्ने उनको आशंका छ ।

“निवेदन दिएपछि पक्राउ परेका र पीडित पक्षलाई बोलाएर छलफल गराउने तयारी भइरहेको छ,” डिएसपी खड्काले भने, “छलफल गर्दा मुद्दा दर्ता गर्ने किसिमको घटना भएको पाइए कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।”