इटहरीः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले थारु तथा मधेसी समुदायका महिलाहरुको महान चाड जितियाका अवसरमा प्रदेशवासीका नाममा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दैैै मुख्यमन्त्री राईले सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

प्रदेश नं. १ सहित तराई–मधेसका जिल्लामा जितिया पर्व धुमधामका साथ मनाइन्छ । सन्तानको दीर्घायुका लागि बस्ने भनिएको यो व्रत आश्विन कृष्णपक्षकोे अष्टमी तिथिका दिन मुख्य गरी मनाइन्छ । आश्विन कृष्ण सप्तमी तिथिका दिन व्रतालुहरू स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास स्ुरु गरी नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर जितिया पर्वको समापन हुन्छ । 

यस व्रतका क्रममा राति जितवाहन भगवानको कथा र महिमा सुन्ने प्रचलन छ । खासगरी थारु र मैथिली समुदायको ठूलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख, शान्ति र चिरायुका लागि प्रसिद्ध छ । सत्ययुगमा भगवान् विष्णुको तपस्या गरी वरदान पाएका सत्यवादी पुरुष जितवाहनको पूजा आराधना गर्नाले सन्तानको अकाल मृत्यु नहुने मान्यताबमोजिम जितवाहनको पूजा र व्रत गर्ने परम्पराको थालनी भएको भन्ने भनाइ छ । जितिया पर्व जिमूतवाहन र जिवित्पुत्रका नामले पनि चिनिन्छ । यो तराई–मधेसको महत्वपूर्ण लोक पर्व हो ।

mukhyamantri shubhakamana.