इटहरीः गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा गरेको खर्चको विवरण समयमा नबुझाउँदा झापाको मेचीनगर नगरपालिकाका मेयर र उपमेयरमाथि निर्वाचन आयोगले जरिवाना गर्ने निर्णय गरेको छ ।

आयोगले नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीनाकुमारी पोखरेल(उप्रेती) लाई जनही साढे चार लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । नगरको उपमेयर पदका लागि उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीले समेत चुनावी खर्च विवरण पेस नगरेकाले आयोगले उनीउपर पनि साढे चार लाख रुपैयाँ जरिवानाको निर्णय गरेको छ । यसैगरी, राप्रपाका तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएकी सविना बजगाई, नेकपा एकीकृत समाजवादीबाट उपमेयरमा उम्मेदवारी दिएकी शारदा शर्मा र स्वतन्त्र उम्मेदवार डिल्लीराम घिमिरेमाथि पनि जनही साढे चार लाख रुपैयाँ जरिवानाको निर्णय आयोगले गरेको छ । 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, काठमाडौँ महानगरका बालेन्द्र साह, उपमेयर सुनिता डङ्गोल र इटहरी उपहानगरपालिकाकी उपमेयर संगीता चौधरीमाथि निर्वाचन आयोगले जरिवाना गर्ने निर्णय गरेको छ । आयोगका अनुसार धरानका मेयर हर्क साम्पाङ र इटहरी उपमहानगरकी उपमेयर संगीता चौधरीले जनही पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सात लाख रुपैयाँ तिर्नुपर्ने भएको छ भने उपमेयर सुनिता डङ्गोलले साँढे पाँच लाख रुपैयाँ जरिवाना बुझाउनुपर्ने भएको छ ।

यसैगरी, विराटनगर महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा कार्कीले पनि जनही साढे पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । उनीहरुका साथै देशभरका कुल एक लाख २३ हजार ६ सय २४ उम्मेदवारमाथि निर्वाचन आयोगले जरिवाना गर्ने निर्णय गरेको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन सम्पन्न भएको ३० दिनभित्र खर्चको विवरण बुझाउनुपर्नेमा त्यसो नगरेपछि आयोगले त्यस्ता उम्मेदवारलाई कारबाही गरेको हो । निर्वाचन आयोग ऐनको दफा २६ को उपदफा १ अनुसार उनीहरुउपर जरिवाना गर्ने निर्णय गरिएको आयोगले जनाएको छ । ६ महिनाभित्र जरिवाना नबुझाए निर्वाचित जनप्रतिनिधिको पद स्वतः खारेज हुने निर्वाचन आयोगले जनाएको छ ।