धरानः बचतकर्ताको करोडौँ रुपैयाँ निक्षेप संकलन गरी आन्तरिक समस्या देखाई बचत फिर्ता गर्न आनाकानी गरिरहेको धरानस्थित बराह बचत तथा ऋण सहकारी सँस्था लिमिटेडलाई सहमतिमा आउन बराह पीडित संघर्ष समितिले असोज ५ गतेसम्मको अल्टिमेटम दिएको छ ।
समितिले विभिन्न १३ बुँदे सर्तको अधीनमा रही सहमतिमा आउन सहकारीलाई आग्रह गरेको छ । सो समयभित्र सहमतिमा नआए सम्पूर्ण बचकर्तालाई भेला गराई बराह सहकारीका गैरकानूनी कामहरुको भण्डाफोर गर्नुका साथै थप संघर्षका कार्यक्रम अगाडि सार्ने चेतावनीसमेत संघर्ष समितिले दिएको छ ।
संघर्ष समितिले सहकारी र बराह ग्रुप अफ कम्पनीका सञ्चालक, विभागीय प्रमुख तथा उपसमिति प्रमुखहरुले बचतकर्ताको बचत फिर्ता गर्ने जिम्मा लिनुपर्ने, सहकारीका सञ्चालक, विभागीय प्रमुख, व्यवस्थापक र तिनका नातेदारको सम्पत्तिको विवरण संकलन गरी बिक्रीका लागि राख्नुपर्ने, बिक्री गर्नुपर्ने सम्पत्ति मात्र फुकुवा गर्दै जाने र सञ्चालक तथा जिम्मेवार पदाधिकारीहरुका अन्य सम्पत्ति रोक्का राखिरहनुपर्नेजस्ता सर्त अगाडि सार्दै सहमतिमा आउन सञ्चालकहरुलाई बोलाएको हो ।
बराह सहकारीले यसअघि पनि संघर्ष समितिसँग पटकपटक सहमति गर्दै रकम फिर्ता गर्न भने विभिन्न बहानामा आलटाल गर्दै आएको छ । बचतकर्ताको रकम फिर्ता दिलाउन धरान उपमहानगरपालिकाले सहयोग नगरेको भन्दै बचतकर्ताहरुले केही समयअघि उपमहानगरपालिकाको कार्यालयमा तोडफोडसमेत गरिदिएका थिए ।