धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको बजारलाई चौबिसै घण्टा चलाउनेबारे सर्वसाधारणसँग राय माग गरेका छन् ।

सुरक्षा व्यवस्था कडा पारी बजार चौबिसै घण्टा सञ्चालनमा ल्याउने सोचका साथ उनले सरोकारवालासँग सुझाव मागेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘धरानमा सुरक्षा बढाएर चौबिसै घण्टा खुल्ला बजार बनाउने नयाँ प्रयोग ल्याउन चाहेका छौँ । जनताको राय बुझौँ न योबारे ।’

307534102_1695908484124525_7289663105463873782_n

यसअघि उपमहानगरपालिकाले उपमहानर क्षेत्रमा सञ्चालन भएको रेस्टुरेन्ट तथा लाउन्ज बार सञ्चालनका लागि नयाँ मापदण्ड तयार गरेको थियो । रेस्टुरेन्टहरुले ग्राहकलाई होसै उड्नेगरी मदिरा सेवन गराउन नपाइने, मदिराको नशामा रहेकालाई घरसम्म लैजान सवारी हुनुपर्ने मापदण्डसमेत उपमहानगरले बनाउनेगरी प्रस्ताव पेस गरिएको थियो । प्रस्तावित मापदण्डअनुसार राति ८ः०० बजेपछि आउने ग्राहकले आफ्नो नाम, ठेगाना, मोबाइल नम्बर सहितको पहिचान फारम भर्नुपर्ने व्यवस्था छ ।

नयाँ ल्याइएको मापदण्डमा लाउञ्ज एण्ड बार बढीमा बिहान २ः०० बजेसम्म खोल्न पाउने उल्लेख छ भने सामान्य प्रकृतिका होटल तथा रेस्टुरेन्ट भने बढीमा राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाइएको छ । नयाँ मापदण्डमा लाउन्ज एण्ड बार र होटलहरुले ग्राहकलाई मदिरा खुवाउँदा होसहवास हराउनेगरी वा ग्राहकले आफूलाई नियन्त्रणमा राख्न नसक्नेगरी धेरै मात्रामा मदिरा सेवन गराउन नपाउने उल्लेख गरिएको छ । यस्तै, मदिरा सेवन गरी अत्याधिक नशामा रहेका ग्राहकलाई घरसम्म पुर्याउने सवारीको व्यवस्था गर्नुपर्नेसमेत नयाँ मापदण्डमा उल्लेख छ । 

यस्तै, ग्राहकको सुरक्षाको लागि सीसी क्यामेरा जडान, प्राइभेट वा छुट्टै पार्किङको व्यवस्था, साउण्ड फ्रुफ भित्ताको व्यवस्था, कर्मचारीको पहिचान खुल्ने पोसाक र बाउन्सरको व्यवस्था हुनुपर्ने लगायतका मापदण्डसमेत ल्याइएको छ । रात्रिकालीन बजारको माग सम्बन्धित होटल व्यवसायी तथा रेस्टुरेन्टहरुले धेरै अघिदेखि गर्दै आएकोले यो किसिमको एजेन्डा अघि सारिएको हो ।