इटहरीः सुनसरीमा ६४ वर्षीया वृद्धाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा घर भएका १८ वर्षीय नकुल राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । अभियुक्त राईउपर गत भदौ २९ गते धरान २० की ६४ वर्षीया पूर्णसरी राईको हत्या गरेको अभियोग छ ।
सिक्री चोर्ने निहुँमा वृद्धाको हत्या गरेका राईलाई प्रहरीले दुई दिनअघि मोरङबाट पक्राउ गरेको हो । राईका साथै सिक्री लुकाउन सघाएको आरोपमा भोक्राहा नरसिंहका २० वर्षीय युवक रञ्जितकुमार साहलाई पनि सुनसरी प्रहरीले पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । अभियुक्त राई उनी लागुऔषध सेवनकर्तासमेत रहेको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेको दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।