इटहरीः गोल्बल ओरियन्स नेपाल प्रालिका नाममा नेटवर्किङ व्यवसायबाट सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले इटहरीबाट ६ जनालाई पक्राउ गरेको छ ।

सर्वसाधारणले आफु ठगिएको सूचना दिएका आधारमा अनुसन्धान गरि ईलाका प्रहरी कार्यालय ईटहरीले उनिहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेकाहरुले इटहरी ९ मा कार्यालय संचालन  गरी हप्तामा १०-१२ हजारसम्म कमाई हुने काम पाईन्छ भनि सर्वसाधरणलाई बोलाई ठगि गरिएको प्रहरीको भनाई छ । उनिहरुले सदस्य बने धेरै लाभ प्राप्त हुने र विभिन्न देश घुम्न पाइने भनि प्रलोभनमा पारी सदस्यता दस्तुर लिई सदस्य बनाई नेटवर्किङ (सञ्जाल) निर्माण गरेर सर्वसाधरणबाट रकम असुली ठगि गरिएको बिशेष सूचनाका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले उनिहरुलाई २ दिनअघि पक्राउ गरि बुधबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई आवश्यक अनुसन्धान थालेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सो कार्यालयका अनुसार इटहरी प्रहरीले  मोरङको मिक्लाजुङ गाउँपालिका १ की  ससिता राई, सुन्दरहरैचा ७ बस्ने संजिव माझी ,ग्रामथान ‍ ३ का विक्रम माझी, कटहरी  ६ का पंकज कुमार साह, अरुण मुडयारी र विर्तामोड  १० का पदम राईलाई पक्राउ गरि अनुसन्धान थालेको हो  । उनिहरुले सञ्चालन गरिरहेको कार्यालयबाट   प्रहरीले कम्प्युटर,ल्यापटप,मोबाईलफोन,बिभिन्न ब्यक्तिको फोटो,नागरीकता सहितको सम्झौतापत्र,  टिकट,बिल,छाप,मेडल,प्रमाण पत्र,ईजाजत पत्र,व्यवसायी दर्ता प्रमाण पत्र,  बिभिन्न व्यानरहरु, चेक ३ थान , बिभिन्न नाम गरेका सामानहरू बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा नेटवर्किङ ठगी सम्बन्धी मुद्धा दर्ता गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।