विराटनगरः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकार सडकको सुरक्षामा गम्भीर भएर काम गरिरहेको बताएका छन् ।
उनले बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा सुरक्षाकर्मीलाई मोटरसाइकल हस्तान्तरण कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले प्रदेश नं १ मा सुरक्षा निकायका लागि खरिद गरिएका स्कटीङ मोटरसाइकल हस्तान्तरण पनि गरे । ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अपराधलाई न्यूनीकरणका गर्नका लागि सुरक्षाकर्मीलाई मज्बुद बनाउनुपर्नेमा जोड दिए । मन्त्री कार्कीले सुरक्षाकर्मीलाई श्रोत साधन जुटाउन प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै स साना कदमबाटै अपराध न्यूनीकरण हुँदै जाने बताए ।
मन्त्री कार्कीले सडक अपराधलाई प्रविधिले निगरानी बढाउने भन्दै मुख्य राजमार्गमा सरकारले सिसी क्यामेरा जडान गरिरहेको बताए । ‘मेची, कोसी तथा रानी, धरान खण्डमा सिसी क्यामेरा जडानको अभियानमा छौँ, उनले भने प्रविधिमैत्री निगरानी भएमा अपराधी उम्कन पाउँदैन ।’
प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट खरिद भएका ६ थान मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गरिएको हो । मोटरसाइकल ग्रहण गर्दै प्रदेश नं १ प्रहरी कार्यालयका प्रमुख सुदीप गिरिले सरकारलाई धन्यवाद ज्ञापन गरे । ट्राफिक प्रहरीलाई यातायात व्यवस्थापनमा कठिनाइ भइरहेको अवस्थामा प्रदेश सरकारको सहयोगले राहत पैदा भएको उनको भनाई छ । मोटरसाइकल वितरण अगाडि प्रदेशको सडक सुरक्षाका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।