काठमाडौँः विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ। मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा छ जना आरोहीको टोलीले परीक्षण उडानको अभ्यास गरिरहेको छ।

इलाइट हिमालयन एडभेन्चरले अनुमति पाएको परीक्षण उडानको टोलीमा विश्व कीर्तिमानी पर्वतारोही नेपाली मिङ्मा डेबिड  (ग्याबु) शेर्पा, निर्मल पुर्जा र विदेशीहरू बोल्टोन, माल्कम बुड, होरासियो लोरेन्स, जेके होल्यान्ड रहेका छन्। सानुबाबु सुनारको नेतृत्वमा रहेको उक्त टोलीले चार हजार आठ सय मिटरको उचाइमा रहेको बेस क्याम्पबाट सोमबार पहिलो परीक्षण उडान गरेको थियो। 

आधार शिविरमा रहेका आरोही मिङ्मा डेबिड (ग्याबु) शेर्पाका अनुसार आठ हजार मिटरभन्दा अग्लो हिमालबाट पहिलो पटक प्याराग्लाइडिङ उडानको सम्भाव्यता अध्ययन हुन लागेको हो। यस कामले मनास्लुमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा अनुसन्धान, हिमाली पर्यटनको प्रवद्र्धन, साहसिक खेलको सम्भावना उडान र अवतरणका लागि उपयुक्त ठाउँको खोजी, प्राविधिक अध्ययनको खोजी गर्न लागिएको उनले बताए । 

उनले निर्मल पुर्जा, माल्कम बुड र होरासियो लोरेन्स तीन जनाले सोमबार पहिलो परीक्षणमा चार हजार ९६० मिटर उचाइबाट सानागाउँसम्म एक–एक सफल उडान गर्नुभएको जानकारी दिए । उनले भने, “अब उपयुक्त मौसमको पर्खाइसँगै पाँच हजार आठ सय मिटरको उचाइमा रहेको पहिलो क्याम्पबाट दोस्रो र तेस्रो चुचुरोबाट परीक्षण उडानको तयारीमा लागेका छौँ।”

हिमाल चढेर ओर्लनु सामान्य भए पनि उडेर बेस क्याम्पमा पुग्न चाहने आरोहीका लागि यो काम थप आकर्षक रहेको उहाँको भनाइ छ। भदौ ३० गते मनास्लुको चुचुरोमा डोरी टाँग्ने काम सकिए पनि मौसमको खराबीले आरोहणमा समस्या आएको उनले बताए ।  पर्यटन विभागका अनुसार मनास्लु आरोहणका लागि ५४ समूहका ४८४ जनाले अनुमति लिएका छन्। १२० महिला र ३६४ पुरुषले लिएको अनुमतिअनुसार सरकारलाई चार करोड ६२ लाख ९१ हजार ५७६ रुपियाँ राजस्व प्राप्त भएको छ। शरद ऋतुमा आरोहण अनुमति लिनेको सङ्ख्या मनास्लुमा सबैभन्दा धेरै हो।

विभागले वर्षमा मार्च, अप्रिल, मे महिनामा पर्ने वसन्त र सेप्टेम्बर, अक्टुबर र नोभेम्बरमा पर्ने शरद ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ। गत वर्षको शरद ऋतुमा मनास्लुसहित ३० वटा हिमाल आरोहणको अनुमति दिइएको थियो। पर्यटन विभागका अनुसार गत साल यसै सिजनमा ८३ समूहका ६४७ जनाले आरोहण अनुमति लिएका थिए। उक्त समयमा सरकारलाई विभिन्न हिमालबाट चार करोड ६७ लाख आठ हजार ७२२ रुपियाँ हिमाली दस्तुर प्राप्त भएको थियो।

मौसम नखुल्दा हिमालमै आरोही

पछिल्लो केही दिनदेखि जारी प्रतिकूल मौसमका कारण यस वर्ष अग्ला हिमालमा आरोहण हुन सकेको छैन। गत वर्षको जारी सिजनमा विभिन्न हिमाल आरोहण गरेर झन्डै ८० प्रतिशत आरोही फर्किसके पनि यस वर्ष भने मौसमका कारण अझै आरोहण हुन नसकेको हो।

पर्यटन विभागका अनुसार मौसम सफा नहुँदा विभिन्न हिमालमा डोरी टाँग्ने काम सकिएको एक सातासम्म आरोहण हुन नसकेको हो। यस वर्ष विभागले १३ वटा हिमाल आरोहणका लागि ५६ समूहका पाँच सय आरोहीलाई अनुमति दिए पनि बिहीबारसम्म १३ जनाले मात्रै आरोहण गरेका छन् । गोरखापत्रबाट