गाईघाटः उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा आइतबारदेखि १० दिने फुड फेस्टिबल शुरु भएको छ ।
सो फेस्टिबलमार्फत् जिल्लाभित्र रहेका विभिन्न जनजातिसँग सम्बद्ध संस्कृति र परम्परागत खानाको परिकारको बजारीकरण हुने आयोजकले जनाएको छ । जिल्ला होटल व्यवसायी सङ्घ र नेवाःपुच उदयपुरको आयोजनामा भएको मेलामार्फत् आन्तरिक पर्यटनको पनि प्रचार हुने आयोजकको अपेक्षा छ ।
फुड फेस्टिबलको प्रदेश नं १ का पर्यटनमन्त्री जगदीशप्रसाद कुसियतले उद्घाटन गरेका छन् । जिल्लाका मुख्य जाति थारु, नेवार, दनुवार, राई, मगर, क्षेत्री, ब्रम्हमणसहित अन्य जातिको परम्परागत र स्थानीय खानाको परिकारहरू प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।
लगभग ५० हजार आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य आयोजकको रहेको बताइएको छ । सो महोत्सवमा नेवार जातिको लाखे नाच, राईको साकेला चण्डीनाच, थारू जातिको झुम्रा नाच, दनुवार जातिको रामदल नाच, पूर्वेली मगर जातिको हुर्रा नाच, क्षेत्री ब्राम्हणको बालन नाच र रत्यौली प्रस्तुत गरिने बताइएको छ ।