इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाको वीरेन्द्र चोकमा पुर्व राजा स्वर्गीय वीरेन्द्रको प्रतिमा नराख्ने निर्णय गरिनु र यहाँको रैथाने जाति थारुको परिचाहन झल्किने गरिको प्रतिमा राख्नु स्वागत योग्य भएको यहाँका अभियान्ताहरुले बताएका छन् । 

थारु जातिहरुको थानहरुको सुरक्षा गर्नुपर्छ भन्ने अभियानका अभियान्ता पदम अधिकारी इटहरी चौकमा पुर्व राजाको प्रतिमा भन्दा थारु जातिको पहिचान र इटहरीको इतिहाँस झल्किने गरिको प्रतिमा राख्ने काम राम्रो भएको टिप्पणाी गरेका छन् । 

‘परिवर्तन भएको समयमा पूर्व राजाको प्रतिमा चौकमै स्थापना गर्नुपर्छ भन्ने होइन इतिहाँसलाई संरक्षण गर्नु राम्रो हो तर इटहरी चौकमा पुर्व राजाको भन्दा थारुको मुर्ती तथा प्रतिमा स्थापित हुनु राम्रो पक्ष हो ।’ अधिकारीले प्रदेश पोर्टलसँग भने । 

राजाको प्रतिमाबाट थारुको प्रतिमा आउनु राम्रो काम भएता पनि त्यति ठुलो र वृहत काम नगरसरकारले सुटुक्क एक जनालाई ठेक्का दिनु भने राम्रो नभएको उनले बताए । 

नगरपालिकाको पैसा भनेको जनताको करको पैसा भएकाले यति ठुलो काममा टेण्डर आव्हान गरेर काम गरिनुपर्ने र धेरै भन्दा धेरै कलाकारले चासो राखेको विषयमा एक जनाले सुटुक्क ठेक्का लिएर काम दिनु सान्दर्भिक नहुने अधिकारीले बताए । 

एक लाख रुपैँया भन्दा माथिको काममा बोलकवोल गर्नुपर्ने नियम भएता पनि नगरसरकारले १७ लाख बढीको बजेटमा निर्माण हुने सौन्दर्यकरणको काम सुटुक्क एक कलाकेन्द्रलाई दिएको बुझिएको छ । 

राजमार्गको स्तरउन्नती र ६ लेन सडकको कुरा समेत उठिरहेको सन्दर्भमा सरोकारबाला र स्थानीय साथै यस क्षेत्रमा कामगर्ने मान्छेहरुसँग परामर्श नगरी कलाकृतिको काम गर्नु भने सान्दर्भिक नभएको अभियान्ताहरुको भनाई छ । 

अहिले १७ लाख भन्दा बढि खर्च गरेर बनाइएको प्रतिमा पछि राजमार्ग  पुननिर्माणका क्रममा भत्काउनु पर्ने अवस्था आयो भने त्यसको जिम्मेवारी कसले लिने भन्ने पनि अहिलेको प्रश्न रहेको अभियान्ताहरुको आवाज छ । 

यता थारु अभियान्ता तथा पत्रकार निशान प्रकृती थारुले पहिले पूर्व राजा वीरेन्द्रको प्रतिमा रहेको चोकमा हिमाल पहाड, मधेसी र इटहरीको पहिलो जाती थारुको पहिचान झल्कने गरी प्रतिमा राखिनु इटहरीको पहिलो जाति थारुको सम्मान भएको प्रतिक्रिया दिएका छन् । 

इटहरीको साँझा पहिचान झल्कने कुरालाई प्राथमिकता दिँदै हिमाली, पहाडी, मधेसीको प्रतिमा सँगै माथि इटा र हरिस समावेश गरिनु स्वागत योग्य निर्णय भएको उनले बताएका छन् । 

यता कलाकार विक्रम श्रीले भने सार्वजनिक महत्वको रचना सुटुक्क बन्यो कुरुप बन्यो भन्दै इतिहाँस उपेक्षित भएको बताएका छन् । 

इटहरी उपमहानगरले एसियन राजमार्गको डिपिआर हेरेर चोकमा स्मारक अथवा ल्याण्डमार्क आवश्यक छ वा छैन यदि आवश्यक हो भने जानकारी प्रचार प्रसार गर्दै प्रदेशका सर्जकहरुबाट प्रतियोगिता आव्हान गरेर उत्कृष्ट मध्येबाट अवसर दिनुपर्ने  कलाकार श्रीको भनाई छ । 

एउटा सामान्य लोगो बनाउन पनि कोटेशन आव्हान हुनुपर्नेमा सहरको मुटुमा बन्न लागेको प्रतिमा सार्वजनिक कोटेशन विना सुटुक्क सरोकारवालालाई सुइको समेत नदिइ बनाउन दिनु अथवा ठेक्का लगाउनु दुःखको कुरा भएको कलकार श्रीको भनाई छ । चोकमा कलाकार श्री कै भाई कलाकार अभिषेक तिम्सिना,अगुवाईमा  विन्दु चौधरी लगायतका नाम चलेका मुर्तीकारहरुले हालको प्रतिमा निर्माण कार्य भईरहेको छ । यसैबीच हिजो राप्रपा पार्टीको नेतृत्वमा चोंकमा स्वर्गीय वीरेन्द्रकै प्रतिमा राख्नु पर्ने माग राखी प्रर्दशन गर्नुका साथै नगर प्रमुख हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।