सप्तरीः सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा दसैँको महानवमीका दिन पशु बलिअन्तर्गत ६६९ राँगाको बलि चढाइएको छ ।  

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कङ्कालिनी भगवती मन्दिरमा उक्त सङ्ख्यामा राँगाको बलि दिइएको मन्दिर विकास समितिका अध्यक्ष रामनारायण मण्डलले जानकारी दिए ।   

मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्वारा सबभन्दा प्रथम स्थानमा परेका सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा निवासी सरोज मण्डलको राँगाको बलि चढाइएको थियो । भारदह गाउँभरिबाट बलि प्रदानका लागि आएकाहरुबीच गोलाप्रथा लगाउने अनि जसको पहिलो नम्बरमा आउँछ उसैको पशुलाई पहिले बलि दिइने गरिन्छ ।  

कङ्कालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानमवीसम्म करिब २५ हजारको हाराहरीमा खसीबोकाको बलि दिएको थियो । आफ्नो मनकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि दिन यहाँ भक्तजन आउने गरेको मन्दिर विकास समितिले जनाएको छ ।

प्रत्येक वर्ष विजयी दशमीका अवसरमा महानमवीका दिन यहाँको मन्दिरमा राँगा, खसीबोका र परेवाको बलि दिने चलन रहेको छ । रासस