ताप्लेजुङःताप्लेजुङको फुङलिङबाट आईएमई लुटपाटमा संलग्न फरार लुटेरा समूहलाई खोज्न प्रहरीले २४ घण्टादेखि सर्च अपरेसन चलाइरहेको छ । सोमबार बिहान कञ्चन मनी ट्रान्सफरमा जाकटी राखेको गहना उकास्नु छ भन्दै पसल भित्र छिरेका ४ जनाको समूहले ११ लाख ५५ हजार नगद र गरगहनासहितका सुनका सामग्री लुटेका थिए ।लुटपाटमा चार जनाको संलग्नता रहेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । 

लुटेरा मध्ये एक जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनको साथबाट नगद ६ लाख र झोलामा रहेको गरगहनासहित पक्राउ गरिएको १ नं प्रदेश प्रहरी प्रमुख डिआइजी सुदिप गिरीले जनाकारी दिए । बाँकी लुटेरा समूहको खोजी गर्न सम्भावित क्षेत्रमा सर्च अभियान सञ्चालन भइरहेको उनले अपराध न्युजलाई बताए ।

‘२४ घण्टादेखि आईएमई लुटपाट गर्ने समूहको खोजीमा प्रहरी लागिरहेको छ, उनीहरू जङ्गल तर्फ भागेको कारण जङ्गल क्षेत्रमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेर सर्च गरिरहेका छौ’, उनले भने, ‘केही सूचनाहरू प्राप्त भएका छन्, चाडै लुटेराहरू पक्राउ पर्नेछन् ।’

चारमध्येका एक जनाले बाहिर रेकी गरेको, दुई जनाले कर्मचारीलाई नियन्त्रणमा लिएको र एक जनाले सिसिटिभी बन्द गराएकोसम्म फुटेजमा देखिएको छ ।

लुटेरा समूहको खोजीमा इलाम, ताप्लेजुङ, झापा जिल्लाबाट प्रहरी परिचालन गरिएको छ । आईएमईकी सञ्चालक अम्बरकुमार श्रेष्ठ र मैया श्रेष्ठ देश बाहिर रहेका छन् । आईएमईकी कर्मचारी आशा राईलाई नियन्त्रणमा लिई हातगोडा बाँधी मुखमा समेत टेपले बाँधेर लुटपाट भएको पाइएको छ ।