इटहरीः १० भदौको रसुवा भोटेकोशी बाढी र त्यसपछिको असरले भदौमा मुद्रास्फीति थप बढेको छ । भदौमा मुलुकको उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको हो । सरकारले यो वर्ष मुद्रास्फीतिलाई ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको थियो । तर, चालू आवको सुरुदेखि नै मुद्रास्फीति त्योभन्दा माथि छ ।
साउनमा ५.९६ प्रतिशत रहेको मुद्रास्फीति भदौमा बढेर ६.३४ प्रतिशत पुगेको हो । गत आवको भदौमा भने मुद्रास्फीति १.८७ प्रतिशत मात्रै थियो । यसै पनि इरान र अमेरिका युद्धका कारण पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले गत फागुन–चैतदेखि नै नेपालमा मूल्यवृद्धि दर बढ्दै आएको छ ।
यसअघि फागुनमा ४.४७ प्रतिशत, चैतमा ५.०४ प्रतिशत, वैशाखमा ५.०४ प्रतिशत, जेठमा ५.२२ प्रतिशत र असारमा ५.१४ प्रतिशतको मूल्यवृद्धि थियो । मुख्यतः भोटेकोशी बाढीले नै मूल्यवृद्धि बढाउन सहयोग पुगेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन् । ‘यद्यपि, भदौमा एकैपटक उच्च मूल्यवृद्धि भएको होइन । गत आवको पछिल्लो समयको प्रत्येक महिना नै यो बढ्दै आएको थियो । त्यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारण थिए ।
अन्तर्राष्ट्रियतर्फ विभिन्न युद्ध, कच्चा तेलको मूल्यमा भएको, हर्मुज नाकामा आएको समस्यालगायतका कारण थिए भने राष्ट्रियतर्फ पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको अवस्था थियो । त्यसकारण यसै पनि मूल्यवृद्धि उच्च हुँदै आएको थियो,’ उनले भने ।
तत्काल करेक्सन नहुने अवस्था
पछिल्लो परिस्थितिको मूल्यांकन गर्दा असोजमा मुद्रास्फीतिमा करेक्सन नआउने देखिएको प्रवक्ता पौडेलले बताए । ‘तत्काल करेक्सन हुने अवस्था छैन । यसै पनि चाडपर्वको समय छ । असोजमा बुढीगण्डकीमा पनि बाढी आयो । त्यसले पनि केही न केही कुरामा असर गर्छ । त्यसको असर मूल्यवृद्धिमा पर्ने हो,’ उनले भने, ‘तसर्थ, असोजमा करेक्सन आइहाल्छ भन्ने अपेक्षा गर्न सकिन्न ।’
तर, उपभोक्ताकर्मी माधव तिमिल्सिनाले मूल्यवृद्धि नियन्त्रणलाई सरकारले बेवास्ता गरेको बताए । ‘विगत केही महिनादेखि नै मूल्यवृद्धि निरन्तर बढ्दै आएको छ । तर, सरकारले त्यसलाई नियन्त्रण गर्न सकेको छैन,’ उनले भने, ‘दसैँको मुखमा यो झन् बढेको छ । बाढीले जनता मारमा परेका वेलामा मूल्यवृद्धि हुनु दुःखद हो । यसलाई सरकारले गम्भीर रूपमा लिनुपर्छ ।’
दुई महिनामा भित्रियो ४.३६ खर्ब रेमिट्यान्स
चालू आवको पहिलो दुई महिनामै चार खर्ब ३६ अर्ब ३६ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले बढी हो । गत आवको दुई महिनामा तीन खर्ब ५२ अर्ब आठ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । तथ्यांकअनुसार भदौमा मात्रै दुई खर्ब २१ अर्ब ३१ करोड रेमिट्यान्स आएको छ ।
गत आवभर भने नेपालमा २३ खर्ब ६३ अर्ब १३ करोड रेमिट्यान्स आएको थियो । दसैँ नजिकिएपछि विदेशमा भएका नेपालीले पनि उच्च मात्रामा रेमिट्यान्स पठाउने गर्छन् । दुई महिनामा आएको रेमिट्यान्स दुई महिनाको वस्तु आयातभन्दा पनि धेरै हो । दुई महिनामा चार खर्ब एक अर्ब ५२ करोड रूपैयाँको वस्तु आयात भएको छ ।
१७.८ महिनाको आयात धान्ने सञ्चिति
भदौ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म यो ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ थियो । दुई महिनामै सञ्चिति ४.३ प्रतिशतले बढेको हो । यो हालसम्मकै उच्च हो । डलरमा भने विदेशी मुद्रा सञ्चितिको आकार २६ अर्ब ४८ करोड कायम हुने देखिन्छ ।
तथ्यांकअनुसार राष्ट्र बैंकसँग ३६ खर्ब १० अर्ब ७६ करोड रुपैयाँ विदेशी मुद्रा छ । बैंक तथा वित्तीय संस्थामा भने चार खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ सञ्चिति छ । यो सञ्चितिले १७.८ महिनाको आयात धान्न पुग्ने केन्द्रीय बैंकको विश्लेषण छ । ‘आर्थिक वर्ष ०८३/८४ को दुई महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
एक खर्ब ८७ अर्ब शोधनान्तर बचत
दुई महिनामा मुलुकबाट भित्रिने र बाहिरिने रकमबिचको अन्तर अर्थात् शोधनान्तर स्थिति एक खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा छ । गत आवको दुई महिनामा यस्तो बचत एक खर्ब ५३ अर्ब ६८ करोड थियो । ‘समीक्षा अवधिमा शोधनान्तर स्थिति एक खर्ब ८७ अर्ब ६८ करोडले बचतमा छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ५३ अर्ब ६८ करोडले बचतमा रहेको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब २३ करोडले बचतमा रहेको छ ।’ यस्तै, समीक्षा अवधिमा चालू खाता एक खर्ब ६९ अर्ब चार करोडले बचतमा छ । गत आवको दुई महिनामा चालू खाता एक खर्ब ३० अर्ब ९७ करोड रुपैयाँले बचतमा थियो ।
भ्रमण आय करिब १५ अर्ब
समीक्षा अवधिमा विदेशी पर्यटकबाट हुने भ्रमण आय १४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत आवको समीक्षा अवधिमा यस्तो आय ११ अर्ब ६२ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा भ्रमण व्यय १३.१ प्रतिशतले घटेर ४१ अर्ब १० करोडमा सीमित भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय २९ अर्ब ५५ करोड रहेको छ । गत आवको साउनमा भ्रमण व्यय ४७ अर्ब ३१ करोड रहेकोमा शिक्षातर्फको व्यय ३२ अर्ब ७६ करोड रहेको थियो ।
पुँजीगत आयातको हिस्सा ८.७ प्रतिशत
समीक्षा अवधिमा नेपालमा चार खर्ब एक अर्ब ५२ करोडको वस्तु आयात हुँदा पुँजीगत आयातको हिस्सा ८.७ प्रतिशत मात्रै छ । गत आवमा यस्तो अनुपात ८.९ प्रतिशत थियो । यसपालि त्यस्तो हिस्सा घटेको छ । ‘समीक्षा अवधिमा भएको कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ३९.४ प्रतिशत, ५१.९ प्रतिशत र ८.७ प्रतिशत रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ३६.८ प्रतिशत, ५४.३ प्रतिशत र ८.९ प्रतिशत रहेको थियो ।
घाटामा सेवा खाता
समीक्षा अवधिमा मुलुकको सेवा खाता भने २२ अर्ब चार करोड रुपैयाँले घाटामा छ । यद्यपि, यो गत आवको सोही अवधिको तुलनामा कम हो । गत आवको पहिलो दुई महिनामा सेवा खाता ३० अर्ब ८८ करोड रुपैयाँ घाटामा थियो । यो खबर आज प्रकाशित नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।




















