इटहरीः ताप्लेजुङको फुङलिङबाट आईएमई लुटपाटमा संलग्न फरार लुटेरा समूहका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाका २२ वर्षीय चुनबहादुर सुनुवार र ताप्लेजुङकै मनी पोर्तेल छन् । चुनबहादुर सुनुवारलाई झापा प्रहरीको समन्वयमा झापाको शिवसताक्षी नगरपालिका वडा नं १ बाट बुधवार बिहान पक्राउ गरेको हो ।  त्यस्तै मनी पोर्तेललाई ताप्लेजुङ फुङलिङ नगरपालिका ३ हेलिप्याडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस अघि फुङलिङ घर भएका राजन पोर्तेललाई लुटपाट भएकै दिन बिहान भानुजन माविको छेउबाट पक्राउ गरिएको थियो । लुटपाटमा ४ जनाको संलग्नता रहेको थियो । अब एक जना पक्राउ गर्न बाँकी छ । उनको खोजीमा ताप्लेजुङ प्रहरी जुटिरहेको छ ।

प्रहरी स्रोतका अनुसार आईएमई लुटपाटमा फुङलिङबाट सुरुमा पक्राउ परेका राजन मुख्य योजनाकार भएको जनाइएको छ । काठमाडौँमा बसको हेल्पर काम गर्ने चुनबहादुर र झापा चारालीमा सुन पसलमा काम गर्ने मनी पोर्तेल र अर्का एक जनाको सहयोगमा राजनले आईएमई लुटपाट गर्ने योजना बनाएर ताप्लेजुङको सदरमुकाम फुङलिङ लागेका थिए ।

दुई दिन झापाको बिर्तामोडमा बसेर उनीहरूले लुटपाटको योजना र लुटिएका सामानको व्यवस्थापन गर्ने विषयमा ‘प्लानिङ’ गरेका थिए । राजन नेतृत्वको समूहले कञ्चन मनी ट्रान्सफर (आईएमई) लुट्नु अघि दुई दिनसम्म रेकी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुन समेत जाकटी राखेर पैसा लगाउने उक्त मनी ट्रान्सफरमा दशैको मुखमा आर्थिक कारोबार बढी हुने गरेको मौकामा लुटपाटको योजना उनीहरूले बनाएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

ime-lutpat-2-uealcqos9k

घटना लगतै मुख्य योजनाकार राजन समातिएपछि उनको साथबाट ६ लाख नगद र सुनका गरगहना बरामद भएको थियो । तर मनी ट्रान्सफरबाट ७ किलो सुन र नगद ११ लाख ५५ हजार लुटपाट भएको सञ्चालकको दाबी छ ।

पक्राउ परेका मनी र चुनबहादुरसँग सुन र नगद बरामद नभए पनि उनीहरूले लुटेको बाँकी नगद र सुन खोजतलास भइरहेको अनुसन्धानमा संलग्न ती प्रहरी अधिकृतले जानकारी दिए । लुटपाटपछि उक्त समूहको खोजीमा प्रहरीले जङ्गल क्षेत्रमा सर्च अपरेसन नै सञ्चालन गरेको थियो । जङ्गल तर्फ भागेका उनीहरूको खोजीमा १५० जना प्रहरी परिचालन गरिएको थियो ।

ime-lutpat-ei3xtt4knw (1)

ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईले लुटपाटमा संलग्न थप दुई जना पक्राउ परेको बताउँदै बाँकी एक जनाको खोजीमा प्रहरी लागिरहेको जानकारी दिए । सबै पक्राउ परेपछि मात्र सम्पूर्ण विवरण सार्वजनिक गर्ने उनले बताए । 

आईएमईकी सञ्चालक अम्बरकुमार श्रेष्ठ र मैया श्रेष्ठ देश बाहिर छन् । आईएमईकी कर्मचारी आशा राईलाई नियन्त्रणमा लिई ४ जनाको समूहले हातगोडा बाँधी मुखमा समेत टेपले बाँधेर लुटपाट गरेका थिए ।