लमजुङः दसैँको अवसरमा ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी घुम्न गएका एकजनाको मृत्यु भएको छ । एक महिला सम्पर्कविहीन भएकी छन् ।
सर्लाही लालबन्दीका २६ वर्षीय वुद्ध तामाङ योन्जनको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताए । मेमेपोखरी (४,८०० मि) घुम्न गएका पाँच जनामध्ये तामाङको लेक लागेर मृत्यु भएको हो । उनकी श्रीमती लमजुङको बेँसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन रहेको उनले जानकारी दिए । उनीहरुसहित पाँचजना उक्त स्थान घुम्न गएका थिए ।
बाँकी तीनजना यतिबेला भेडीगोठमा बसिरहेका छन् । उनीहरुको मौसममा आएको बदलीका कारण उद्धारमा कठिन भइरहेको प्रहरी नायब उपरीक्षक श्रीमलको भनाइ छ । सम्पर्कविहीन भएकी सर्मिलाको खोजी गर्न प्रहरीको टोली गए पनि उक्त स्थानसम्म पुग्न सकेको छैन ।
शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करिब चार हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेको उनीहरुले प्रहरीलाई जानकारी गराएका थिए । यही असोज १६ गते घुम्न गएका उनीहरुलाई उक्त स्थान पुग्न बेँसीसहरबाट तीन दिन लाग्छ । बास बस्नका लागि सल्लाहबमोजिम तीनजना अघि हिँडेका र पछि श्रीमान् र श्रीमती आएको प्रहरीले जनाएको छ । रासस