मनोज भुजेल

इटहरीः इटहरीको मुख्य चौकमा शनिवार साँझ कट्टी प्रहारबाट घाइते सिटी चालकको मृत्यु भएको छ । धारिलो हतियार (कट्टी) प्रहार गर्दा इटहरी ५ बस्ने सफारी चालक भुने चौधरीको बायाँ हात छिनेको अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए ।

४६ वर्षीय चौधरीमाथि धारिलो हतियार प्रहार भएपछि प्रहरीले तत्काल उनको उद्धार गरेर धरानस्थित बिपी प्रतिष्ठानमा पुराएको केही समयपछि उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

चौधरीको अत्याधिक रक्तश्रापका कारण मृत्यु भएको हुन सक्ने प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । मृतक चौधरीको बायाँ हात घटनास्थलमै खसेको थियो । पछि प्रहरीले छिनेको हात उठाएको थियो । को २ ह ४७४६ नम्बरको सिटी चलाउने चौधरीलाई इटहरी ६ स्थित मुख्य चौकको गुहेश्वरी मर्चेन्ट बैकिङ एन्ड फाइनान्स अगाडी कटी प्रहार भएको थियो ।

उनीमाथि छिमेकी राम भुजेलले कटी प्रहार गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । भुजेलसँग अन्य केही व्यक्तिसमेत साथमा रहेको आधारमा भुजेलसहित संलग्नहरूको खोजी भइरहेको छ । यता इलाका प्रहरी कार्यालय इटहरीले घटनामा संलग्न हुनसक्ने आशङ्कामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरीको बिरोध

इटहरी प्रहरीको कमजोर सुरक्षा व्यवस्थापनको कारण मुख्य चौकमा अप्रिय घटना हुन थालेको स्थानीय एवम् व्यवसायीहरूले प्रतिक्रिया दिएका छन् । चाडपर्वको समयमा पनि प्रहरीले सुरक्षाको प्रत्याभूत गराउन नसकेको स्थानीयहरूको आरोप छ । इटहरीमा पछिल्लो समय चोरीका घटना बढ्दा समेत प्रहरी गम्भीर नभएको स्थानीय मोहन बहादुर श्रेष्ठले बताए ।

चोरी नियन्त्रण गर्न नसक्ने प्रहरी अनि इटहरीको मुख्य चौकमा खुलेआम हतियार प्रहार गरेर मान्छे मार्दाको अवस्थाले असुरक्षित महसुस गरेको उनको भनाई छ ।

यसअघि इटहरीको सेन्ट्रल प्लाज अगाडि दिउँसै एक युवकमाथि खुकुरी प्रहार भएको थियो । प्रहरी कार्यालय नजिकै भएपनि सो बेला घटनास्थलमा प्रहरी करिब ३० मिनेट पछि मात्र आएको थियो । इटहरीको दुई घटनास्थल इलाका प्रहरी कार्यालय इटहरीबाट नजिकै पर्दछन् । 

इटहरीमा यो घटना मात्र नभई पछिल्लो ३ महिना यता मान्छेमाथि धारिलो हतियार प्रहार भएका घटना, लुटपाट एवम् चोरीका घटना बढेको स्वयम प्रहरीको तथ्याङ्कले देखाउँछ । इटहरीमा बढ्दो घटनाक्रमका विषयमा स्थानीय सरकार एवम् प्रहरी प्रशासन गम्भीर हुनुपर्ने स्थानीयहरूको सुझाव छ ।