इटहरीः इटहरीको मुख्य चौकमा शनिवार साँझ धारिलो हतियार(कट्टी) प्रहार गरी सिटी चालकको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । इटहरी ५ का सिटी चालक भुने चौधरीको हत्यामा संलग्न छिमेकी राम भुजेललाई प्रहरीको टोलीले जोगवनी नाकाबाट आइतबार बिहान पक्राउ गरेको हो ।

हत्यापछि भुजेल भारतको जोगवनी नाका क्षेत्रको एक घरमा लुकेको अवस्थामा प्रहरीले फेला पारेको जनाइएको छ । उनलाई कानुनी प्रक्रिया पुरा गरेर सार्वजनिक गर्ने प्रहरीको योजना छ । प्रहरीले भुजेललाई बाइक मार्फत भगाउन सहयोग गर्ने अर्का एक व्यक्तिलाई शनिवार साझै पक्राउ गरिसकेको छ । 

हत्यामा संलग्न भुजेल घटनापछि फरार थिए । उनको खोजीमा प्रहरीको संयुक्त अनुसन्धान टोली जुटेको थियो । धारिलो हतियार (कट्टी)  प्रहार गर्दा चौधरीको बायाँ हात छिनेको अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।