इटहरीः शनिवार इटहरीको नेशनल गल्ली छेउमा समसाँझै कट्टी  प्रहार गरी एक सिटी सफारी चालकको हत्या भएपछि मृतकका आफन्तले आइतबार जथाभावी सवारी साधनमाथि ढुङ्गामुडा गरेपछि प्रहरीले धरपकड गरेको छ ।  

घरायसी विवादले  साँझ इटहरीमा ज्वाईंंले जेठानको हत्या गरेको बिरोधमा इलाका प्रहरी कार्यालय इटहरी अगाडि प्रदर्शन गर्नेमाथि प्रहरीले जथाभावी लाठ्ठी चार्ज गरेको हो   । प्रहरीले लाठ्ठी चार्जसँगै तीन जनालाई नियन्त्रणमा समेत लिएको जनाएको छ ।

इटहरीको व्यस्त बजार वडा नं ६ को नेशनल गल्ली अगाडि इटहरी वडा नं ५ का राम भूजेलले सोही ठाउँका भुने चौधरीमाथि खुकुरी प्रहार गर्दा चौधरीको हात काटिएको थियो भने उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा रातीनै मृत्यु भएको थियो । 

आफन्तले मृत्यु भएको बिरोधमा आइतबार १० बजेदेखि इलाका प्रहरी कार्यालय इटहरीमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा मृतकका आफन्तले सिटी सफारीसँगै सवारी साधनमाथि ढुङ्गामुडा गर्न थालेपछि लाठी चार्ज गरिएको प्रहरीले बताएको छ । मृतकका आफन्तले सवारी साधननै बन्द गरेर अवरोध गरेकोमा प्रहरीले लाठ्ठी चार्ज गरेर भीड तितरवितर पारेपछि १२ बजेदेखि भने यातायात सुचारु भएको छ । 

मृतक चौधरी रामका नातामा जेठान पर्ने बताइएको छ । प्रहरीले घटनामा संलग्न भूजेल र उनलाई सहयोग गर्ने इटहरी वडा नं ६ का वेदप्रकाश मण्डललाई पक्राउ गरिएको बताएको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।