इटहरीः आगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनमा प्रदेश १ मा ४ सय ३८ मतदान स्थललाई अति संवेदनशिल मतदान स्थलको रुपमा हेरिएको छ । 

प्रदेश १ प्रहरी कार्यलयका अनुसार गत स्थानीय निर्वाचनमा ३ सय २१ मतदान स्थल संवेदशील रहेकोमा संघ र प्रदेशको निर्वाचनमा १ सय १७ मतदान स्थल अति संवेदनशीलमा थपिएका छन् । 

स्थानीय निर्वाचनमा भन्दा प्रदेश भरी  ९० वटा मतदान स्थल थप भएका छन् । 

निर्वाचनको मुख्य सुरक्षामा रहने नेपाल प्रहरी लगायतका सुरक्षा निकायले गरेको वर्गीकरण अनुसार १४ जिल्ला रहेको प्रदेश १ मा ४ हजार ९९ मतदान केन्द्र र १ हजार ८ सय ९७ मतदान  छन् जसमध्ये ८२४ मतदान स्थल संवेदनशील र ६३५ मतदानस्थल सामान्य रहेका छन् । 

भारतीय सीमानामा रहेकाले झापा, मोरङ्ग र सुनसरीका मतदान स्थललाई संवेशनशीलको सुचीमा राखिएको छ । जसमा झापा अति संवेदनशीलमा छ । 

तराईका जिल्लाहरू भारतसँग सीमा जोडिएको स्थानीय तहहरूको मतदान स्थलहरू सुरक्षा निकायले अति संवेदनशीलमा राखेर सुरक्षा योजना बनाएको जनाएको छ ।

७६६ मतदान केन्द्र र २ सय ८५ मतदान स्थल रहेको झापामा ९५ मतदान स्थल अति संवेदनशील सूचीमा छन् भने  १४४ संवेदनशील र ४६ सामान्य रहेको छ । 

झापापछि दोस्रोमा सबैभन्दा बढी निर्वाचन क्षेत्र र स्थानीय तह रहेको मोरङमा ५० वटा मतदानस्थल अति संवेदनशील छन् । ८ सय ३९ वटा मतदान केन्द्र र ३ सय ६ वटा मतदान स्थल रहेको मोरङमा संवेदनशील १ सय ४४ र ११२ वटा सामान्य रहेका छन् । मोरङको अति संवेदनशील सूचीमा राखेको मतदान स्थलमध्ये विराटनगरको दक्षिण भेगमा पर्ने ९ वटा मतदान स्थल अति संवेदनशीलमा सुरक्षा निकायले राखेको छ । रंगेली, धनपालथान, रतुवामाइ, सुनवर्षी र केराबारी क्षेत्रको मतदान स्थललाई पनि सुरक्षा निकायले अति संवेदनशील क्षेत्रको पहिचान गरी सुरक्षा योजना अगाडि बढाएको छ ।

निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै प्रदेश १ मा संघ र प्रदेशकोे निर्वाचनमा १४ हजारभन्दा बढी नेपाल प्रहरी मात्रै खटाउने योजना नेपाल प्रहरीको छ  । निर्वाचनमा  प्रहरी बाहेक २० हजार म्यादी प्रहरी प्रहरी परिचालन गरिने छ भने सशस्त्र प्रहरी पनि परिचालन हुनेछन्  ।  सरकारले राष्ट्रपतिबाट सेना परिचालनको अनुमति समेत लिइसकेको छ ।