इटहरीः पेस्तोल सहित मनि ट्रान्सफरमा प्रवेश गरेर लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चोकमा रहेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ताप्लेजुङका अम्वर श्रेष्ठले संचालन गरेको मनि ट्रान्सफरमा पेस्तोलसहित प्रवेश गरेर लुटपाटमा संलग्न रही फरार रहेका मुख्य योजनाकार फुङलिङ नगरपालिका–२ का २९ बर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका–१ झापाका २६ बर्षीय चुन बहादुर सुनार, अर्जुनधारा–१० झापाका २५ बर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका ५ ताप्लेजुङ घर भई फिदिम–१ पाँचथर बस्दै आएका २७ बर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बु रहेका छन् ।

उनीहरुले असोज १७ गते बिहान कञ्चन मनि ट्रान्सफरमा पेस्तोल सहित प्रवेश गरी मनि ट्रान्सफरका कर्मचारी ३३ बर्षीया आशामाया प्रधानलाई कुटपिट गरी सेफमा राखेको करिव ३४८ तोला सुनका बिभिन्न गरगहना र नगद ११ लाख ६३ हजार २५० रुपैया समेत डाका गरी भागेका थिए ।