काठमाडौंः पाँच वर्षअघि तनहुँमा नेकपा एमालेका तर्फबाट भारी मतसहित नेपाली कांग्रेसका हेभिवेट नेता रामचन्द्र पौडेललाई पराजित गरेका पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ यसपटक बाराबाट उम्मेदवार बनेका छन् । 

बाराको निर्वाचन क्षेत्र नम्बर ४ बाट श्रेष्ठ उम्मेदवार बनिरहँदा प्रदेश ‘क’ मा माओवादी केन्द्र बारा अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र ‘ख’ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेश प्रदेश इन्चार्ज जितेन्द्र सोनल उम्मेदवार छन् । 

तनहुँको नेवार खान्दान । नेवारी सम्प्रदाय । एकाएक बारामा उम्मेदवारी दर्तासँगै चर्चामा रहनु भएका श्रेष्ठ आइतबार गठबन्धनका उम्मेदवार सहित निर्वाचन कार्यालय पुग्दा रौनक अर्कै थियो । भोजपुरी भाषामा नाराबाजी सम्बोधन भइरहेको थियो । मधेसी समुदायका नेताहरुको अगुवाइ । तनहुँबाट पनि आएका कार्यकर्ता र समर्थकको भोजपुरी सम्बोधनमा परर ताली । सफेद पोशाकमा नयाँ भूगोलमा आएका किसान श्रेष्ठ जनतासँग अपरिचित जस्तो भान नै हुँदैनथ्यो । 

उम्मेदवारी दर्तापछि किसान श्रेष्ठले भने, ‘गठबन्धनले तनहुँ बाहेक जहाँ उठे पनि टिकट दिने भनेको थियो, मैले नै बारा रोजेको हुँ, यहाँ मेरो घर छ, व्यापार छ, मन्त्री हुँदै मैले बारामा विकासका कार्यक्रमहरू ल्याएको थिएँ, ५० औँ करोडको बजेट पारेको छु, आँखा अस्पताल, अस्पताललाई बजेटसँगै दुईसय बेडको श्रमिक अस्पताल बारामै बन्दैछ ।’

‘सेज सञ्चालनमा भूमिका खेल्नेछु, बाराको बेरोजगारी हल गर्न यहाँका उद्योगहरूमा समन्वय गर्नेछु,’ श्रेष्ठले भने, ‘पथलैयामा लालपूर्जा विहीनलाई लालपूर्जा दिलाउनेछु, तराई मधेसका घरबारविहीन दलित समुदायलाई घरबारको पहल गर्नेछु ।’

बारामा लोकप्रिय र पुरानै नेताजस्तै श्रेष्ठ प्रस्तुत भए र भने, ‘फास्ट ट्र्याक , सेज प्राथमिकतामा छ, म तनहुँबाट भागेर आएको भन्नेहरुले पाँच वर्षमा के काम गरे, त्यो भन्दा बढी ६ महिनामै म काम गरेर देखाउनेछु ।’ 

बारामा उत्साहपूर्ण जनसहभागिता, मधेसी समुदायले सहजै किसान श्रेष्ठलाई नेतृत्वमा स्वीकारेको देखियो । भोजपुरी भाषाको बाहुल्य रहेको क्षेत्रमा उम्मेदवार बनेका श्रेष्ठले भने, ‘जनता उत्साहित छन्, विकासका नाममा गर्न सकिने कुरा मात्र गरेको छु, गरिबी र बेरोजगारीले आक्रान्त समुदाय निकै आसावादी छन्, उनीहरुलाई गठबन्धनले नै सबै माग पूरा गर्छ भन्ने बुझाउन हामी सफल भएकाले निर्वाचनमा जित सहज बनेको महसुस गरेका छौँ ।’