इटहरीः इटहरीमा रहेको राजस्व अनुसन्धान कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यालयबाट आएको दबाबमा प्रहरीले नियन्त्रणमा लिई कार्वाहीका लागि बुझाएको  आठ ट्रक सुपारी छोडिएको छ ।    मोरङ प्रहरीले साउन ५ मा पक्राउ गरेर ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीलाई ८ ट्रक सुपारी बुझाएको थियो। राजस्वले असोज १३ गते सुपारी छाडि दिएको हो। राजस्व विभागले प्रधानमन्त्री कार्यालयको दबाब थेग्न नसकेपछि इटहरी कार्यालयलाई पत्राचार गरेर सुपारी छाडिएको जानकारी दिइयो।

कार्यालयका प्रमुख तीर्थराज खनालले राजस्व अनुसन्धान विभागले असोज १२ गते रोकिएका ट्रक गन्तव्यमा लैजान अनुमति दिनु भन्ने ब्यहोराको पत्र पठाएपछि छाडिएको जानकारी दिए । सुपारी छाड्न दबाबका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा केही राष्ट्रिय नेताले फोन गरेर दवाव दिएका थिए । तर, सम्भव नभएपछि प्रधानमन्त्री कार्यालयकै दवावमा महानिर्देशकको पत्रका आधारमा छाडिएको हो । 

मोरङ प्रहरीले विराटनगर र जोगबनी भन्सारबाट जाँचपास भई भारतीय मार्गतर्फ जाँदै गरेको अवस्थामा ८ वटा ट्रकमा लोड गरिएको २ लाख १९ हजार ५९६ किलो सुपारी पक्राउ गरेर राजस्व अनुसन्धानमा बुझाएको थियो । तर अदालतले वादी घिमिरेका पक्षमा फैसला दिन नसक्ने सुइँको पाएपछि सुपारी कारोबारी समूह प्रधानमन्त्री कार्यालयसम्म पुगेको थियो ।