काठमाडौंः चामल उत्पादनमा अग्रणी मानिने पूर्वी नेपालको झापा जिल्ला पछिल्लो समय ‘पर्यटकीय हब’ बन्ने कसरतमा देखिन्छ । भारतीय पर्यटकलाई लक्षित गरेर झापामा क्यासिनोसहितका पाँचतारे होटेल खोल्ने होडबाजी नै चल्न थालेको देखिन्छ ।
होटेल मेची क्राउन र किङ्ग्सबरी गरी दुईवटा पाँचतारे सञ्चालनमा आइसकेको झापामा तीनवटा पाँचतारे निर्माण सुरु भइसकेका छन् । तीनवटा पाँचतारेमा आठ अर्ब ६० करोड रुपैयाँ लगानी हुनेछ । रुपन्देहीमा पाँचतारे ‘टाइगर वान’ रिसोर्ट सञ्चालनमा ल्याएको हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजले पनि झापामा ‘टाइगर टु’ सञ्चालन गर्ने तयारीमा छ । उद्योग विभागबाट लगानीको स्वीकृति लिइसकेको यो होेटेल पनि छिट्टै निर्माण सुरु हुने बताइएको छ ।
चारवटा होटेल सञ्चालनमा आउँदा झापामा मात्रै पाँचतारेको संख्या ६ पुग्ने देखिएको छ । अहिले सञ्चालनमा रहेका पाँचतारे मेची क्राउन र किङ्ग्सबरी होटेलमा एक सय ८३ कोठा रहेका छन् ।
यी हुन् थपिन लागेका पाँचतारे
झापाको मेचीनगरमा पाँचतारे होटेल सञ्चालन गर्ने गरी ‘होटेल इस्टर्न नेपाल’ उद्योग विभागमा दर्ता भएको छ । निर्माण सुरु भइसकेको यस होटेलमा एक अर्ब ६९ करोड रुपैयाँ लगानी हुने बताइएको छ ।
होटेल इष्टर्नमा ९९ कोठा रहनेछन् भने दुई सय ५० सिट क्षमताको रेस्टुरेन्ट पनि हुनेछ । यो होटेलमा पूर्णतया स्वदेशी लगानी हुनेछ ।
यस्तै, झापाकै मेचीनगर–१३ मा सञ्चालन गर्ने गरी अर्को पाँचतारे आयुष्मान होटेल सञ्चालन गर्ने गरी उद्योग विभागबाट लगानीको स्वीकृति लिइसकेको छ । यो होेटलमा ९५ कोठा र एक सय ९० सिट क्षमताको रेष्टुरेन्ट हुनेछ । यो होटेल सञ्चालनमा आइसक्दा लगानी दुई अर्ब ५१ करोड पुग्ने अनुमान गरिएको छ ।
झापाको बिर्तामोडमा व्यवसायी दुर्गा प्रसाईंले साढे चार अर्ब लगानीमा ‘एट्रियम क्यासिनो होटेल’ सञ्चालनमा ल्याउँदैछन् । करिव ७५ प्रतिशत निर्माण सम्पन्न भइसकेको होटेल आगामी वर्षदेखि सञ्चालनमा ल्याउने उनको लक्ष्य छ ।
एक सय १५ कोठा रहने होटेलमा पाँचवटा भिल्ला पनि हुनेछन् । यस्तै, २५ सय जना अटाउने ब्यांक्वेट हल पनि हुनेछ । सुविधा सम्पन्न पाँचतारे होटेलमा उपलब्ध हुने सम्पूर्ण सुविधाहरु आफ्नो होटेलमा पनि उपलब्ध हुने उनको भनाई छ ।
चार विगाहा क्षेत्रफलमा फैलिएको होटेलमा पूर्ण क्षमताको ठूलो क्यासिनो सञ्चालन हुनेछ ।
पाँचतारेमा ३०९ कोठा थपिँदै
झापामा बनिरहेका तीनवटा पाँचतारे सञ्चालनमा आउँदा ३०९ कोठाहरु थपिने भएका छन् । अहिले सञ्चालनमा रहेका दुईवटा पाँचतारे होटेलमा १८३ कोठा रहेका छन् ।
अबको केही वर्षभित्र झापामा पाँचतारे होटेलमा कोठा संख्या ४९२ कोठा पुग्ने देखिएको छ ।
क्यासिनोको पनि हब
झापामा क्यासिनो खेल्न आउने भारतीय पर्यटकलाई लक्षित गर्दै पाँचतारे होटेलको ओइरो लागेको बताइन्छ । होटेल मेची क्राउनमा पूर्ण क्षमताको ठूलो क्यासिनो सञ्चालनमा छ । झापामा एउटा ठूलो सहित तीनवटा क्यासिनो सञ्चालनमा आइसकेको पर्यटन विभागले जनाएको छ ।
अब सञ्चालनमा आउने होटेलले पनि क्यासिनोलाई नै तार्गेट गरेका छन् । निकट भविष्यमै झापा क्यासिनो हब बन्ने स्थानीय व्यवसायीले बताए ।
भारतीय सिमावर्ती शहरबाट नेपालको बोर्डरका होटेलमा क्यासिनो खेल्न आउने धेरै हुने गर्छन् । त्यसैले पनि पछिल्लो समय ठूला र मिनी क्यासिनो बोर्डरका होटेलमा बढि केन्द्रित देखिएका छन् । महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, वीरगञ्ज, विराटनगर र झापामा क्यासिनो धेरै खुलिसकेको देखिन्छ ।
झापाबाट भारतको बागडोगरा एयरपोर्ट नजिकै पर्ने हुँदा भारतीयसँगै अरु छिमेकी मुलुकका पर्यटक पनि क्यासिनो खेल्न आउने व्यवसायीको अनुमान छ । नेपाल होम्सबाट