काठमाडौंः मौसम खुलेसँगै राजधानी काठमाडौं उपत्यका वरिपरी देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ । करिब दुई साताको लगातार वर्षा रोकिएर क्रमशः मौसम खुलेपछि उपत्यकाका डाडाँ र उत्तरी क्षेत्रमा देखिने हिमश्रृङ्खलाले शरद ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको छ ।
मौसमखुलेसँगै उपत्यका आसपास र प्रमुख गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको होटल सङ्घ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । उनले भने, “यो मौसममा आन्तरिक पर्यटन एकदमै राम्रो छ, चाडपर्वसँगै बीदा मनाउने उल्लेख्य संख्यामा गन्तव्यमा निस्किएका छन् । अहिले मौसमले पनि साथ दिएकाले पर्यटनमा सकारात्मक उत्साह थपिएको छ ।”
पछिल्ला दिनमा काठमाडौंलगायत देशभर मौसम सफा रही आकाश खुलेको छ । पारिलो घाम लागेकाले उपत्यका आसपासका गन्तव्यमा पनि पर्यटकको भीडभाड बढेको छ । प्रि–बुकिङ पनि राम्रो रहेको छ । होटल क्षेत्रमा आन्तरिक र विदेशी पर्यटक बाक्लिएका छन् ।
तीन दिनयता उपत्यकाको मौसम खुलेकाले धुलिखेल, नगरकोट, चन्द्रागिरी हिल्स, जरसिंहपौवा, सुन्दरीजल, शिवपुरी, चोभारलगायत गन्तव्यमा पर्यटकीय चहलपहल बढेको व्यवसायीले बताएका छन् ।
उपत्यकाका पवित्र तीर्थस्थल, धार्मिक तथा पुरातात्विक क्षेत्रमा घुम्नेको पनि भीडभाड देखिन्छ । पशुपति क्षेत्र, स्वयम्भु, चाँगुनारायण, दक्षिणकालीलगायत धार्मिक स्थालमा तिर्थालु भक्तजनको घुइँचो लागेको छ । त्यस्तै प्रमुख पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक बढेका छन् ।
त्यसोत, यो सिजन पदयात्रा र पर्वतारोहणका लागि पनि उपयुक्त मौसम हो । यतिखेर उल्लेख्य सङ्ख्यामा पर्यटक गन्तव्यतिर निस्केका छन् । मौसमले साथ दिएकाले पर्वतारोहण र पदयात्रा सहज भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक होमप्रसाद लुइटेलले मौसमले साथ दिएकाले आरोहण सामान्यरुपमा चलिरहेको जानकारी दिए । मनास्लु आरोहण लगभग सकिएको छ । अन्य हिमाल तथा चुली आरोहणमा अझै आरोहीले धमाधम अनुमति लिइरहेका छन् ।
विभागको विवरणमा हाल नेपालसहित ६९ देशका एक सय १० आरोही समूहका ९३१ आरोहीले आरोहण अनुमति लिएका छन् । यिमध्ये सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् ।
सफा मौसम भएकाले नीलो आकाश र हरिया डाडाँकाडाँले जोकोहीलाई आकषित गर्छ । त्यसमा पनि चाँदीका घेरा झै टल्किने हिमश्रृङ्खलाको मनमोहक दृश्यले पर्यटकीय मौसममा थप रौनकता थपिएको छ ।
अहिले उपत्यकाका जुनसुकै स्थानबाट सहजै उत्तरी भेगमा विभिन्न हिमालका मनोरम दृश्यावलोकन गर्न पाइन्छ । तिहारको मौसम पनि शुरु हुन लागेकाले हरिया पहाड उपत्यकाका विभिन्न स्थानमा फुलेका फुलको मनमोहक दृश्य पनि कम आकर्षक छैन ।
मौसमले साथ दिएकाले अहिले पर्यटन क्षेत्रमा चहलपहल बाक्लिएको नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले बताए । “पर्यटकीय चहलपहल राम्रै बढेको छ, बीचमा मौसमले केही समस्या आएपनि पछिल्ला दिनमा मौसम सफा रहेसँगै पर्यटकलाई आवागमन र दृश्वावलोकनलाई सहज तुल्याएको छ । यो मौसमले पर्यटन क्षेत्रमा पनि सकारात्मक बहार ल्याउछ”, मकालु एडभेन्चर प्रालिका प्रवन्ध निर्देशकसमेत रहेका लम्सालले भने ।
मौसम खुलेसँगै हवाई उडान विशेषगरी पर्वतीय उडान ९माउन्टेन फ्लाइट०मा पनि आकर्षण बढेको छ । पर्वतीय उडानका लागि यो उपयुक्त मौसम पनि हो । मौसम खुलेर हिमालमा बादलुको घुम्टो उघ्रिएपछि मनोरम दृश्यले पर्यटकलाई लालयित तुल्याउछ । अक्टोबर र नोभेम्बर पर्वतीय उडानका लागि राम्रो मानिन्छ । “ मौसम राम्रोसँग खुलेकाले दुईदिन यता पर्वतीय उडान ह्वात्तै बढेको छ”, यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने, “ अव यो क्रम बढ्ने विश्वासमा छौ, तिहारसम्मका लागि राम्रो बुकिङ आइरहेको छ ।”
मौसमले साथ दिएकाले पर्वतीय उडान उत्साहवद्र्धकरुपमा चलिरहेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । “मौसम खुलेसँगै पर्वतीय उडान राम्रो भएको छ । यो सिजनमा धेरै विदेशी घुम्न आउने र हिमश्रृङ्खला राम्रोसँग देखिने भएकाले पर्वतीय उडानमा आकर्षण बढ्छ ।” रासस