इनरुवाः सुनसरी जिल्लामा रहेका राजनितिक दल तथा उम्मेदवारहरुले सरोकारवालाहरु सँग ठुला दल र पद ओहदामा बसेका उम्मेदवारले सरकारको संरक्षणमा निर्वाचन आचारसंहिता उल्लधन गरेको आरोप लगाएका छन ।

मुख्य निर्वाचन अधिकृत कार्यालय सुनसरीसहित जिल्ला निर्वाचन कार्यालय सुनसरी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुरक्षा निकायका प्रमुखहरु सहभागी रहेको बैठकमा निर्वाचन आचारसंहिता सवै उम्मेदवारका लागि समान रुपमा लागु गरि ठुला दलका उम्मेदवारलाई कारवाही गर्न माग गरेका हुन ।

मुख्य निर्वाचन अधिकृत कार्यालय सुनसरीले आइतवार स्वतन्त्र उम्मेदवार तथा राजनितिक दलहरुसँग निर्वाचन आचारसंहिता समबन्धमा गरेको छलफलमा अधिकाश सहभागीहरुले ठुला दल र पद ओहोदामा रहेका उम्मेदवारले भडकिलो चुनावी अभियान चलाएको आरोप लगाएका हुन ।

स्वतन्त्र उम्मेदवारहरुले मुख्य ठुला दलका उम्मेदवारले मतादाता प्रभाव पार्ने गर्ने भौतिक पुर्वाधार विकास निर्माणको योजना बाडदै हिडेको, भारतिय नम्बर प्लेटका सवारीसाधनहरु प्रयोग गरेको, सरकारी सवारी साधनहरु प्रयोग गरेको गरेको, प्रहरी प्रशासनको दुरुपयोग गरेको जस्ता आरोप लगाएका थिए ।

बैठकमा दलका प्रतिनिधि तथा उम्मेदवारहरुले निर्वाचन आचारसंहिता साना दल तथा स्वतन्त्र उम्मेदवारका लागि मात्रै कडाई गर्ने नियम भएको गुनासो गर्दै पद तथा ओहदामा रहेका उम्मेदवारले भडकिलो चुनावी अभियान संचालन गरि आचारसंहिता उल्लधन गर्दा अनुगमन र कारवाही नभएको दावी गरेका हुन ।

निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवार सँग बोलाइएको बैठकमा आचारसंहिता पूर्णरूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिदै सबै राजनीतिक दलले आचारसंहिता पालना गर्न प्रतिवद्ध रहेको लिखित प्रतिवद्धता जनाएका थिए ।

सुनसरीका मुख्य निर्र्वाचन अधिकृत अर्जुन अधिकारीले निष्पक्ष, स्वतन्त्र, स्वच्छ र भयरहित निर्वाचन गराउनका लागि आचार संहिता पालन गर्न जरुरी रहेकाले सवै उम्मेदवारले प्रतिवद्धता जनाए अनुसार निर्वाचन कार्यक्रम गर्न आग्रह गरेका थिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आउदो कार्तिक १७ गतेदेखि मंसिर २ गतेसम्मको अवधी निर्वाचन प्रचार प्रसार र उम्मेदवारको मतदाताका बिचमा जाने समय अवधी तोकिएकाले आचारसंहिता विपरितका कार्यहरु नगर्न नगराउन दल तथा उम्मेदवारलाई आग्रह गरेका थिए ।