काठमाडौंः नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको  निधनप्रति दुःख व्यक्त गरेका छन् । खनालले जोशीको निधनले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एउटा अमूल्य स्रष्टा गुमाएको जनाएका हुन् ।

‘भाषा, साहित्य र संस्कृतिको माध्यमबाट  स्वर्गीय जोशीको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने उल्लेख गरेका छन् ।  उनले भनेका छन्– ‘कला, संस्कृति र साहित्य क्षेत्रका विराट प्रतिभा शताब्दी पुरूष सत्यमोहन जोशीको  दुखद निधनको खबरले मलाई स्तब्ध बनाएको छ । यस दुःखद घडीमा म सर्वप्रथम शताब्दी पुरुष आदरणीय सत्यमोहन जोशी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, वहाँको परिवारजन प्रति गहिरो समवेदना पनि प्रकट गर्दछु ।’ 

नेता खनालले लेखेका छन्–‘आदरणीय सत्यमोहन जोशी १०३ वर्ष बाँचेर मात्रै चर्चामा आउनुभएको होइन, नेपालको सांस्कृतिक, पुरातात्विक र साहित्यिक जस्ता बहुआयामिक क्षेत्रमा वहाँको अतुलनीय योगदान रहेको छ । तिन पटक सम्म मदन पुरस्कारबाट सम्मानित नेपालको एकमात्र व्यक्तित्व सत्यमोहन जोशीले नेपालको साहित्यिक उन्नयनमा विशेष योगदान पुर्याउनु भएको थियो । सोही योगदानको कारण सरकारले वहाँलाई ‘ वाङ्मय शताब्दी पुरुष’ घोषणा गरेको थियो । शताब्दी पुरुष जोशी पुरातत्व विभागको निर्देशक भएर धेरै प्राचीन मूर्तिहरू सार्वजनिक स्थलहरूबाट सङ्ग्रहालयमा स्थानान्तरण गर्नुका साथै सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारप्रसार गरेर मानिसहरूलाई सांस्कृतिक सम्पदाको महत्व बुझाउन सफल हुनुभएको थियो ।’

नाटक विधामा पनि उनको अतुलनीय योगदान रहेको पाइन्छ । २०१६ सालमा राष्ट्रिय नाचघर निर्माण गर्न उनको विशेष योगदान रहेको थियो । उनका पाँच दर्जनभन्दा बढी विभिन्न विधाका पुस्तकहरू प्रकाशित छन्, जसले संस्कृति तथा इतिहास सम्बन्धी नयाँ तथ्यहरू उजागर गरेका छन् । नेपाली वाङ्मयका हरेक क्षेत्रमा योगदान पुर्याएका अग्रणी व्यक्तित्व जोशीले नेपाल प्रज्ञाप्रतिष्ठानबाट त्रिभुवन प्रज्ञा पुरस्कार, भूपालमानसिंह प्रज्ञा पुरस्कार, साथै काठमाडौँ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि लगायत अन्य सयौँ पुरस्कार तथा अभिनन्दनहरु ग्रहण गरेका थिए ।  

वहाँको निधनमा नेपाली जनता र राष्ट्रले एउटा सच्चा राष्ट्रसेवक मात्र नभएर  नेपाली संस्कृति तथा कला क्षेत्रका एउटा मूर्धन्य व्यक्तित्व पनि  गुमाएको छ । यो मुलुकको लागि अपूरणीय क्षति हो । अन्तमा, दिवंगत आदरणीय शताब्दी पुरुष सत्यमोहन जोशी प्रति फेरी एकपटक हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । नेता खनालले भनेका छन् ।