सङ्खुवासभाः बजारमा फुलको अभाव बढेको छ । फुलै फुलको पर्व भनेर समेत चिनिने तिहारमा फुल अभाव हुँदा उपभोक्ताहरू रित्तो हात घर फर्कन बाध्य भएका छन् । 

व्यावसायिक फुल खेती नगरिने यस जिल्लामा यस वर्ष फुलको अभाव बढेको हो । सङ्खुवासभामा हालसम्म पनि ठुलो परिमाणमा यस वर्ष पनि व्यावसायिक खेती लगाइएको छैन । थोरै मात्रामा छिटपुट फुल खेती लगाउने गरिए पनि यस वर्ष कसैले खेती नलगाउँदा फुलको अभाव बढेको हो । ठुलो मात्रामा फुल खेती नलगाउँदा सहर बजारवासीहरूको तिहार फुल विहीन हुने देखिएको छ । 

गाउँ घरमा भने आफ्नो लागि घर वरिपरि र आँगनको डिलमा फुल रोप्ने गरिन्छ । आफूलाई राखेपछि बढी हुने भए मात्र बजारमा बेच्न लगिने चलन छ । यस वर्षको तिहार चाँडो भएकोले सबै फुल नफुल्दा अभाव बढेका बताइएको छ । गाउँबाट फुल बजारमा नआएपछि जिल्ला सदरमुकाम खाँदबारी, चैनपुर लगायतका बजारहरूमा फुलको अभाव बढेको हो ।

यस वर्ष सङ्खुवासभामा कतै पनि व्यावसायिक फुल खेती नगरिएको खाँदबारी बजारका फुल व्यापारी उषा रामदान बताउछिन् । अघिल्लो वर्षहरू पनि किसानहरूबाट डोकोबाट सङ्कलन गरेर बिक्री गरिएको रामदानले बताइन् । यस वर्ष त्यो पनि नपाइएको उनले जानकारी दिए । एक दिन अघि एक जनाले आधा धोक्रो फुल ल्याइदिएको बाहेक फुल बेच्न नपाएको व्यापारी रामदानको भनाई छ ।

खाँदबारी बजारमा भेटिनुभएका पाँचखपन नगरपालिकाका तारा पुरीले बजारमा फुल नपाएकोले यस वर्ष चलानी फुल (प्लास्टिकको फुल) प्रयोग गर्ने सोच भएको बताइन् । भाईटिकाको अघिल्लो दिनसम्म फुल खोज्ने र नपाए चलानी फुल प्रयोग गर्ने योजना रहेको उनले बताइन् । हातमा फुलको सानो मुठो देखाउनुहुँदै पुरीले भनिन्, ‘एक अँगालो फुल लैजाने भएर बजार आएकी थिएँ, यत्ति पाएँ ।’ थोरै पाएको फुलको मुल्य उच्च रहेको उनले बताइन । उनले सयपत्री फुलको प्रति थुङ्गा २० रुपैयाँ तिरेको बताइन्  । 

तिहारमा भाइटिकाको लागि मखमली फुल सबैभन्दा राम्रो मानिन्छ । तर जिल्लाको मुख्य बजारहरूमा छिटपुट सयपत्री फुल पाईए पनि मखमली फुल शुन्य छ । अघिल्लो वर्ष ठाउँ ठाउँका कृषकहरूबाट सङ्कलन गरेर एकै दिन ३० हजार रुपैयाँका मखमली फुल बिक्री गरेको स्थानीय व्यापारी दुर्गादेवी कार्कीले बताइन् । यो वर्ष बजारमा बिक्री गर्ने गरी कतै पनि मखमली नपाइएको उनले बताइन् । 

सङ्खुवासभामा प्राय हरेक वर्ष फुलको अभाव हुने गरेको छ । अघिल्लो वर्ष धनकुटाबाट फुल ल्याएर खाँदबारी बजारमा बिक्री गरिएको थियो । यस वर्ष त्यहाँबाट समेत फुल आयात गरिएको छैन । सङ्खुवासभामा व्यावसायिक फुल खेतीको सम्भावना राम्रो भएर पनि कसैले खेती नगर्दा अभाव हट्न नसकेको खबर गोरखापत्रमा प्रकाशित भएको छ ।