इलामः पुस ५ गतेदेखि १६ गतेसम्म इलाममा ‘मेची पर्यटन महोत्सव’ हुने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना गर्न र दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त महोत्सव आयोजना गर्न लागिएको बताइएको छ ।
शेर्पा नाच र सतार नाच प्रदर्शन हुने
पर्यटन प्रवद्र्धन सरोकार समिति इलामको आयोजनामा हुन लागेको सो महोत्सवमा ताप्लेजुङको शेर्पा नाच र झापाको सतार नाच प्रदर्शन गरिनुका साथै इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट चौंरी र घोडासमेत ल्याउने तयारी भइरहेको बताइएको छ । विश्वमै लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा) समेत ल्याउने तयारी भइरहेको आयोजक संस्थाका सल्लाहकार धर्म गौतमले बताए ।
पर्यटकको सङ्ख्यामा वृद्धि
पर्यटन सूचना केन्द्र इलामका अनुसार जिल्लामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका प्रमुख पर्यटकीय स्थल माइपोखरी, कन्याम, श्रीअन्तु, गजुरमुखीलगायतको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
केन्द्रका अनुसार यस वर्षको मंसिर मसान्तसम्ममा १ लाखको हाराहारीमा पर्यटक भित्रिएका छन् । केन्द्रका अनुसार उक्त सङ्ख्या गत वर्षकोभन्दा दोब्बरले बढी हो । केन्द्रका सूचना अधिकारी गगन घिमिरेका अनुसार गत वर्षको मंसिरमा ५० हजारको हाराहारीमा पर्यटक भित्रिएका थिए । पर्यटकीय महोत्सव, प्रचारप्रसार र सबै क्षेत्रमा सडकको पहुँच भएका कारण पर्यटकको सङ्ख्यामा वृद्धि भएको घिमिरे बताउँछन् ।