फिदिमः  पूर्वका बहुल लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी उत्सव) मनाउन सुरु गरेका छन् ।  नयाँ धान कोदो पाक्न थालेसँगै लिम्बू जातिको घर–घरमा चासोक तङ्नाम मनाउन सुरु हुन्छ । 

नयाँ अन्न पुज्ने चढाउने चलनलाई चासोक तङ्नाम भनिने लिम्बू संस्कृतिज्ञाता पाँचथरका राजेन्द्र जबेगु बताउछन् ।  चासोक तङ्नामका रूपमा तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई थान थापेर फेदाङ्मा (लिम्बू पुरेत) द्वारा नयाँ अन्न चडाइन्छ । अनि मात्रै नयाँ अन्न खान तथा भण्डारण गर्न थालिन्छ । यो चाड नयाँ अन्न कटनी, सङ्कलन र भण्डारण गर्ने समयभरि मनाउने गरिन्छ ।  नयाँ अन्नबाली पुज्ने उँधौली न्वागी पर्वको लिम्बू संस्करण नै चासोक तङ्नाम हो । 

लिम्बू बहुल पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरी चासोक तङ्नामको थातथलो हो । प्रकृति पूजक लिम्बू जातिको प्रकृति नै पुज्ने संस्कृति हो, चासोक तङ्नाम। यो संस्कृति लिम्बू समुदायले अपनाएको खेती प्रणालीको विकासदेखि मनाउँदै आएको बताइन्छ । मङ्सिर पूर्णिमाको दिन यसलाई सामूहिक÷संस्थागतले मनाउने चलन छ। ठिक यो समयमा पूर्वेली लिम्बू बस्ती चासोक तङ्नाममय बन्छ । 

लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले चासोक तङ्नाम संस्थागतले मनाउने चलन बसालेको हो । नयाँ अन्नबाली पुज्ने क्रममा बालीसँगै सारमा उब्जाई दिने प्रकृति जल, जमिन, वायु, अग्निलाई विशेष ढङ्गले पुजिन्छ । 

चासोक तङ्नाम अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा पनि रहेको चुम्लुङ केन्द्रीय महासचिव निरन्ती तुम्बापोले बताइन् । लिम्बू जातिले अन्नलाई एक प्रकारले माङ् (देवता) नै मान्छन् ।  त्यसैले यी जाति अन्नमा खुसीका साथै प्रेम प्रकट गर्न पुज्छन् । 

चासोकका बेला कलात्मकले चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ ।  यसलाई अन्नको पनि सम्मान हुने र घरको पनि शोभा बढ्ने गरेर ढोका छेउ झुण्याउने चलन छ । लिम्बू मुन्धुम (शास्त्र) अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङहरुले काँचो कन्दमूल खान्थे ।  यसबाट उन्मुक्ति पाउन पुर्खाले तपस्या गरे ।  यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर) , क्यावो (फापर), फामु (कागुनी) लगायत बीज दिए । 

प्राप्त बीज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बू महिला) ले संरक्षण गरेर कृषि युगको सुरुवात गरिन् ।  आगोले मानिस खाद्यान्न पकाएर खान अभ्यस्त भए। यसपछि मानिसले स्वास्थ्य बदवर्धक खाद्यान्न पाउन थाले ।  यसपछि प्रकृतिसहित खाद्यान्नको बिउँ दिने ‘तागरेनिङ्वाभुमाङ’लाई स–धन्यवाद आफूले नखाई चोखो अन्न अर्पण गर्न थालियो। यसैको निरन्तरता ‘चासोक तङ्नाम’ अहिले पनि कायम रहेको हो । 

धान र कोदो पाकेपछि लिम्बू जातिले चासोक गर्नै पर्ने चलन छ ।  नचढाई खाए विभिन्न रोग व्याध लाग्ने लिम्बू समुदायमा जनविश्वास रहेको खबर गोरखापत्रमा प्रकाशित भएको छ ।