प्रकाश बन्जारा 

इटहरीः सवारीसाधन निर्धारित गतिमा नगुडाउँदा तिहारका पाँच दिनमा मात्रै प्रदेश १ भरी १७ जनाको मृत्यु भएको छ । गत बर्ष तिहारको पाँच दिनमा प्रदेश भरी २० जनाको दुर्घटना परी ज्यान गएको  थियो । 

यो बर्षको तिहारका पाँच दिनमा  इटहरी आसपासमा  बढि दुर्घटना भएका छन् । इटहरीको आपँगाछी देखि विराटनगर लाइनमा सबैभन्दा बढि दुर्घटना हुने गरेको पाइएको छ । बारम्बार यो क्षेत्रमा दुर्घटना हुनुको मुख्य कारण तिव्र गति नै भएको ट्राफिक प्रहरीको भनाई छ । 

प्रदेश एकभरी ७ लाख सवारी दर्ता भएको र इटहरी क्षेत्र प्रदेश १ को हव भएको कारणले पनि सवारीको अत्याधिक चापको क्षेत्रमा सवारी दुर्घटनाको सम्भावना बढि हुने प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यलय इटहरीका डिएसपी श्याम सारु मगर बताउछन् । 

सवारी साधनहरुका लागि कुनका लागि कति लिमिटको गति तोकिएको छ सोही अनुसार सवारी साधन चलाए दुर्घटना कम हुने मगरको भनाई छ  । चाडवाडको बेला मादकपदार्थको सेवन तथा लागुपदार्थको सेवन गरेर समेत सवारी साधन चलाउने गरेका कारण दुर्घटना बढि भएको ट्राफिक प्रहरी बताउँछ । 

‘हामी बिहान देखि ठाउँ ठाँउमा चेक पोष्टहरु सञ्चालन गरेर बसेका हुन्छौँ । प्रहरीको चेकपोष्ट छलेर वाइपास गरेर भाग्नेक्रममा पनि बढि दुर्घटना भएको पाइएको छ ।’ डिएसपी मगरले भने । 

सवारी धनीले आफुले यात्रा गर्नुपुर्व आफ्नो सवारीको लाइट, इन्डिकेटर, ब्रेक जस्ता पार्टसहरु ठिक दुरुस्त काम गर्छन भन्ने निक्यौल गरेर हिड्न सकेमात्रै पनि दुर्घटना न्युनिकरण गर्न सकिने मगरको भनाई छ । 

सरकारले सामान्यतया ठाउँ अनुसार मोटरसाइकलको लागि प्रतिघण्टा ५० किलोमिटर, ठुला सवारीको लागि प्रतिघण्टा ७० किलोमिटर तथा कार जिप भ्यानको लागि प्रतिघण्टा ८० किलोमिटरको गति तोकिदिएको छ । घना बस्ती तथा अप्ठ्यारो बाटो आउनासाथ त्यो दुरी अचानक कम हुन्छ तर सवारी चालकले उक्त निर्देशनको वेवास्ता गर्दा सवारी दुर्घटनामा पर्न सक्ने डिएसपी मगरले बताए ।  

सवारी दुर्घटना ट्राफिक प्रहरीले मात्रै रोक्न सक्ने कुरा पनि होइन, सबै सवारी धनी तथा चालकले तोकिएको मापदण्डमा सावधानीका साथ सवारी साधन चलाउने हो भने दुर्घटना त्यसै कम हुने ट्राफिक प्रहरी कार्यलय इटहरीका डिएसपी मगर बताउँछन्  । 

उनका अनुसार धेरैजसो दुर्घटनाहरु साँझको पाँच बजेपछि हुने गरेका छन् । ड्रिङ्क्स एण्ड ड्राइभ गर्नै भएन । तोकिएको मापदण्डमा सवारीसाधन चलाउनु पर्ने हुन्छ  ।