इटहरीः  प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बिहीबार प्रदेश कमान्ड पोष्टले इटहरीमा आयोजना गरेको निर्वाचन विशेष सुरक्षा योजना सम्बन्धित बैठकमा मन्त्री कार्कीले यस्तो बताएका हुन् । आवधिक निर्वाचन कसैको जित हार भन्दा पनि लोकतन्त्रको जीतका रूपमा हुने बताउँदै मन्त्री कार्कीले लोकतन्त्रलाई विजयी बनाउनका लागि सुरक्षा निकायका प्रतिनिधिलाई निर्देशन दिए ।

photo 2 (5)

‘यो कसैको जित हारको कुरा हुँदैन । आवधिक निर्वाचनले लोकतन्त्रलाई विजयी गराउँदछ । उनले भने, जनताले शान्तिपूर्ण ढङ्गले मतदान गर्न पाउने वातावरण बनाउनुपर्छ ।’ मन्त्री कार्कीले प्रदेशका संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाउन निर्देशन दिँदै भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।

बैठकमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले प्रदेशको सुरक्षा स्थिति तथा योजनाका बारेमा ब्रिफिङ गराएका थिए ।