इटहरीः सुनसरी प्रहरीले  एक सय ७५ केजी गाँजासहित इटहरीका दुई जना युवकलाई  पक्राउ गरेको छ ।

यसरी पक्राउ गर्नेहरुमा  इटहरी उपमहानगरपालिका वडा नं ४ का ३१ वर्षीय मनिष दर्नाल र सोही ठाउँका ३१ वर्षीय योगेन्द्र बजगाईँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालले बताएका छन् । 

उनीहरूलाई प्रहरीले  बराहक्षेत्र नगरपालिका ११ मधुवनस्थित भित्री सडकखण्डबाट पक्राउ गरेको हो ।  प्रहरी टोलीले बा ११ च ३०४२ नम्बरको बोलेरो गाडीमा गाँजासहित पक्राउ गरेको थियो । 

प्रहरीले गाडीमा लुकाईछिपाई राखिएको ७ वटा प्लाष्टिकमा  एक सय ७५ केजी गाँजा र नगद एक लाख एक हजार चार सय पच्चीस रुपैयाँ समेत बरामद गरेको छ । उनिहरुबाट प्रहरीले एक थान मोबाइल समेत बरामद गरेको छ । 

पक्राउ परेका उनीहरूको सम्बन्धमा जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।