धनकुटाः अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर प्रदेश नं. १ को उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा परिचित धनकुटाको भेडेटारमा खाना महोत्सव हुने भएको छ ।
आयोजक होटल एसोसिएसन अफ भेडेटारले बुधवार पत्रकार सम्मेलन गर्दै अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर खाना महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । महोत्सव आगामी पुस १६ देखि १८ गतेसम्म भेडेटार बजारमा आयोजना हुने भएको छ ।
विगत ७ वर्षदेखि आयोजना हुँदै आइरहेको महोत्सवमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूल र हस्तकला, कृषि तथा घरेलु सामग्री प्रदर्शनीमा राखिने होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । खाना महोत्सवमा आउने आगन्तुकलाई प्याराग्लाइडिङ, माउण्टेन बाइक र टुर प्याकेजको व्यवस्था गरिएको बताइएको छ ।
महोत्सवमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको बताइएको छ । साथै राष्ट्रिय र स्थानीयस्तरका कलाकारको साङ्गीतिक प्रस्तुतिसमेत रहने बताइएको छ ।
महोत्सव अवधिभर भेडेटारका होटलमा खानामा १० प्रतिशत र बास बस्दा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । महोत्सवमा आउने पर्यटकलाई साँगुरीगढी गाउँपालिकाभित्र रहेको साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, सैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङ्गको बरको रुख लगायतका ठाउँमा घुमाइने बताइएको छ । त्यस्तै मगर, लिम्बू, राई, चौधरी, धिमाल र याख्खा जातिको सांस्कृतिक झाँकीमार्फत् मनोरञ्जन लिन सक्ने आयोजक समितिका सचिव आशिष राईले बताए ।