इटहरीः आइतबार सम्पन्न भएको प्रतिनिधि सभा तर्फको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले विजय शुरुवात गरेको छ । सो पार्टीले मुस्ताङबाट विजयको खाता खोलेको हो । 

सो जिल्लाको एक मात्र निर्वाचन क्षेत्रबाट कांग्रेसका युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन् ।   निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न भने बाँकी नै रहेको छ । 

२८ वर्षीय युवा नेता गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन् । गौचनले तीन हजार १५६ मत पाउँदा एमालेका तुलाचनले दुई हजार ५२१ मत मात्रै पाएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवीणकुमार शेरचनले ६६ मत मात्रै पाएका छन् । 

मुस्ताङको थासाङ गाउँपालिका–३ का योगेशले एलाइन्स युनिभर्सिटी बैंगलोरबाट बिजनेश म्यानेजमेन्टमा स्नातक गरेका छन्। योगेश नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । उनी पर्यटन व्यवसायीसमेत हुन् ।