इलामः ५० हजार पर्यटक भित्र्याउने लक्ष्यसहित इलाम सदरमुकाममा १० दिने ‘मेची क्षेत्र पर्यटन महोत्सव’ शुरु भएको छ । इलाममा आयोजना भएकामध्ये हालसम्मकै सबैभन्दा ठूलो पर्यटन महोत्सवका रूपमा लागेको सो महोत्सवमा साहित्यिक तथा सांस्कृतिक विषयवस्तुको प्रदर्शन गरिएको छ भने जातीय खानाका परिकारसमेत प्रस्तुत गरिएको छ ।

महोत्सवको शुरुमा नेवार, राई, गुरुङ, लिम्बू तथा ब्राह्मण जातिका जातीय वेशभूषा र बाजागाजासहित र्याली निकालिएको थियो । र्यालीमा चार जिल्लाका पर्यटकीय स्थलको समेत प्रदर्शन गरिएको थियो ।

मेची अञ्चलका ४ जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने योजनाले शुरु भएको यो महोत्सव १६ गतेसम्म चल्ने बताइएको छ । ४ जिल्लामा बसोबास गर्ने जातजातिको लोप हुन लागेको संस्कृतिको प्रदर्शन, दुर्लभ जीवजन्तु र पर्यटकीय क्षेत्रको प्रचारप्रसार मेलामार्फत् गरिने आयोजकको भनाइ छ ।

पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा भएको महोत्सवमा ५० वटा स्टल निर्माण गरिएको छ । महोत्सवमा ताप्लेजुङबाट शेर्पा नाच, झापाबाट सतार नाच, इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट चौंरी र घोडासमेत ल्याइएको आयोजकले बताएको छ ।