धरानः उषा राई मृत्यु प्रकरणकी मुख्य आरोपित उर्मिला राई पक्राउ परेकी छन् ।

बिहीबार मुख्य आरोपी धरान १३ की राई धरान १३ बाट नै पक्राउ परेकी इलाका प्रहरी कार्यालय धरान डीएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार उनलाई आफ्नो घरबाट नभई अनन्तैबाट पक्राउ गरिएको हो । घाइते उषाको उपचारको क्रममामृत्यु भएपछि उर्मिला फरार थिइन् । उनले भने,‘उर्मिला राईलाई पक्राउ गरेका छौं । अन्यको पनि खोजी भइरहेको छ ।’ 

आमा समूहको संलग्नता नभएको दावी

उषा राई मृत्यु प्रकरणमा धरान १३ को जनजागृति आमा समुहले कुटपिटमा समूहको संलग्नता नभएको दावी गरेको छ ।

घट्नाको विवादमा तानिएपछि समूहले बुधबार पत्रकार सम्मेलन गर्दै समुहको संलग्नता नरहेको दावी गरेको हो । समुहले दोषीलाई कारबाही गर्न र पीडित (मृतक) लाई न्याय दिलाउन पनि सम्बन्धिन निकायसँग माग गरेको छ । 

समूहकी अध्यक्ष निर्मला तिम्सिनाले किटानी जाहेरीमा उल्लेख गरेका नामका व्यक्ति कोही पनि समुहमा आवद्ध नभएको बताइन् । आफुहरुको संस्थाको नाम जोडेर गलत र भ्रमपुर्ण हल्ला फिजाइएको भन्दै दुःख पनि व्यक्त गरिन् । उनले व्यक्तिगत रुपमा उपस्थिति भएपनि संस्थाको संलग्नता नभएको बताइन् । उनले भनिन्, ‘हाम्रो संस्थामा उजुरी आएको पनि छैन, हामीले यो बिषयमा छलफल पनि गरेका छैनौं ।’ समूहका कोही व्यक्तिगत रुपमा संलग्न भएमा कारबाही गर्नुपर्ने बताइन् ।