इटहरीः आमा समुहका सदस्यहरुको संलग्नतामा कुटपिट गरी मृत्यु भएको भनिएकी धरान–१३ की उषा राई मृत्यु प्रकरणमा प्रहरी सत्यताको नजिक पुगेको बताइएको छ । 

दोषीलाई कारबाहिको माग गर्दै महिला अधिकारबादि संघ संस्थाहरुले दवाव दिइरहेको अवस्थामा  इलाका प्रहरी कार्यालय धरानले थप दुई जनालाइ पक्राउ गरेको छ ।

धरान–१३ की उषा राईलाई आमा समूहले सामूहिक रूपमा कुटपिट गरेको र उनको उपचारको क्रममा मृत्यु भएको आरोप लागेपछि शुक्रबार दिनभर इलाका प्रहरी कार्यलय नै तवान ग्रस्त बनेको थियो । 

प्रहरीले आफ्नो काम गरिरहेको बताएपनि अधिकार बादि संघ संस्थाले उषा राईको हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलन गरेका थिए । 

उनिहरूले दोषीलाई पक्राउ नगरी पोस्टमार्टम गर्न नदिने भन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी, इलाका प्रहरी कार्यालय धरान र पीडक भनिएकी उर्मिला राईको घर घेराउ गरेर प्रदर्शन गरेका थिए ।

मुख्य आरोपी भनिएकी उर्मिला राईलाई केही दिन अगाडी प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार  साँझ थप दुई जनालाई प्रहरीले पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा सुसेली राई र सुमित्रा राई रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिएका छन् । 

धनकुटा घर भई धरानमा बसेर सिलाई कटाईको का मगर्ने एकल महिला उषा राईको कुटपिटमा संलग्न रहेको भनी ७ जनाको नाममा किटानी जाहेरी इलाका प्रहरी कार्यालयमा परेको भए पनि घटनामा संलग्न महिलाहरू फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ । यता यो घटनालाई लिएर भइरहेको प्रदर्शनले गर्दा प्रहरीलाई अनुसन्धान गर्न समेत अवरोध भइरहेको छ । प्रदर्शनकारीको भिड नियन्त्रण गर्न र प्रदर्शन भइरहेको ठाउँमा प्रहरी खट्नुपर्ने भएकोले फरार भएकाहरूलाई पनि पक्राउ गर्न प्रहरी परिचालन हुन समस्या भइरहेको इप्रकाको भनाई छ  ।

मृतक उषा राईलाई कार्तिक ३ गते उर्मिला राईले आफ्नो श्रीमानसँग जोडेर उनकै घरमा महिलाहरूको समूह लिएर गएर कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।  उषा राईलाई महिला समूहले कुटपिट गरी केही अखाद्य पदार्थ समेत खुवाइएको आरोप लागेको छ । 

 उनको तत्कालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो । केही दिनको उपचार पछि डिस्चार्ज भएर घर फर्केपछि दुवै पक्षले इलाका प्रहरी कार्यालयमा मिलापत्र गरेका थिए । त्यसको केही दिन पछि उषा राईको स्वास्थ्यमा समस्या देखिए पछि उनलाई पुनः अस्पताल भर्ना गरिएको थियो । आईसियुमा भर्ना भएर उपचारको क्रममा उषा राईको मृत्यु भएपछि उनको कुटपिटकै कारण मृत्यु भएको भनिएको छ । अहिले सम्म मृतकको पोस्टमार्टम हुन सकेको छैन ।