इटहरीः सामुहिक कुटपिट पछि घाइते भई मृत्यु भएकी उषा राईको विरोधका बावजुत शनिबार राती अन्त्येष्टी गरिएको छ ।
उषाले न्याय पाउनु पर्छ भन्दै आन्दोलन गरिहेका नागरिक समाज र अधिकारबादी संस्थाको आन्दोलनका बावजुत परिवारले शनिवारै लाश जिम्मा लिएर अन्तिम संस्कार गरेका हुन ।
लाश जिम्मा लिने कि नलिने रस्साकस्सीले शनिबार दिनभर वीपी प्रतिष्ठानमा चलेपछि परिवार पक्षले लाशको अन्तिम संस्कार गर्ने र न्यायको लागि दवाव दिने भनेपछि अन्तिम संस्कार सम्भव भएको थियो । केही पक्षको विरोध भएपनि परिवार तथा आफन्तजनले मृतक राईको लाश पोष्टमार्टम गर्ने सहमति दिएको थियो । पोष्टमार्टम गरेपनि लाश उठाउन नदिने भन्दै केही महिलाहरुको समुहले निरन्तर विरोध गरिरहेका थिए ।
मृतक राईको शव शनिबार राती नै धरानको खत्रीधारास्थित दाहसँस्कारस्थलमा अन्त्येष्टी गरिएको छ । धनकुटा घर भएकी उषा धरान १३ मा डेरा गर्दै बसिरहेकी थिइन् ।
धरान १३ कै उर्मिला राईले आफ्नो श्रीमान् नजिकिएको भन्दै उषालाई कुटपिट गरेकी थिइन् । आफन्तजन र अन्य महिलाहरु लिएर उषाको सिलाई पसलमा पुगेर जथाभावी कुटपिट गरेका थिए ।
धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ्गले दोषीलाई पक्राउ गरी अनुसन्धान गरिने भन्दै सद्भाव पुर्ण दवाव कायम राख्न नागरिक समाजलाई आग्रह गरेका छन् । दवावका नाममा हुलदुगां नगर्न र तोडफोड नगर्न मेयर साम्पाङ्गको आग्रह छ ।