धरानः  धरान १३ की एकल महिला उषा कुमारी राई मृत्यु प्रकरणमा संलग्न ४ जना आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

मंगलबार इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै आरोपीहरूलाई सार्वजनिक गरेको हो ।  

इलाका प्रहरी कार्यालय धरानका अनुसार महिलाहरुको समूहको कुटपिटबाट घाइते भएकी उषाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मंसिर १३ गते मृत्यु भएपछि मृतकका भाई सुन्दर राईले किटानी जाहेरी दिएका थिए । 

जाहेरीका  आधारमा ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको प्रहरीले जनाएको छ । अन्य ३ जना भने फरार हरेका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार पक्राउ पर्नेमा घटनाका मुख्य आरोपी धरान १३ सुर्य मार्गकी ५५ बर्षीया उर्मिला राई रहेकी छिन् । 

dharan police

उर्मिलालाई मंसिर १५ गते पक्राउ गरी १० दिनको म्याद थप गरिएको छ । मंसिर १६ गते र धरान १७ की २९ बर्षीया सुसेली राईलाई पक्राउ गरेर अदालतबाट ९ दिनको म्याद थप भएको डीएसपी श्रेष्ठले बताए । यस्तै,  ४० बर्षीया रत्न लिम्बु सुब्बालाई मंसिर १८ गते पक्राउ गरेर ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । इलका प्रहरी कार्यालयका अनुसार घटना भएको बेला खिचिएको भिडियोमा देखिएका महिलाहरुको पनि खोजी भइरहेको डिएसपी श्रेष्ठले बताए । 

उक्त घटनामा सिर्जना राई, मिना राई र निरकुमारी गुरुङको पनि संलग्नता भएको भन्दै जाहेरी परेकाले उनीहहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । ३ मध्ये एकजनाको पहिचान नभएको प्रहरीले जनाएको छ ।

मंसिर ३ गते आफ्नो पतिसँग नजिएको आरोप लगाउँदै उर्मिला राई नेतृत्वको समूहले उषालाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाइेते उषालाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

 प्रतिष्ठानमा केही दिन उपचार गरी डिस्चार्ज भएकी उषाले उपचार खर्च पाउने गरी सामुदायिक प्रहरीमा मिलापत्र गरेका थिए । उषाको पुनः स्वास्थ्यमा समस्या आएपछि प्रतिष्ठान भर्ना गरिएको थियो । प्रतिष्ठानमा उपचारको क्रममा उषाको मंसिर १३ गते मृत्यु भएको थियो । उषालाई महिलाहरुको समूहले कुटपिट गर्नुका विषादीयुक्त तरल पदार्थ समेत खुवाएका थिए ।