इटहरीः इटहरी उपमहानगरपालिका वडा नं २० तरहरास्थित निर्माणाधीन राधाकृष्ण मन्दिर व्यवस्थापन समितिलाई स्थानीय टंकनाथ नेपालले ४२ लाख रुपैयाँ बराबरको भवन दिएका छन् ।

बुधबार (आज) एक कार्यक्रमको आयोजना गर्दै मन्दिर व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरिएको हो । भवन टंकनाथ र रिमा नेपालले आफ्ना माता पिताको नाममा निर्माण गरेर हस्तान्तरण गरेका हुन् ।

मन्दिर परिसरमा नेपालले किरियापुत्रीका लागि लक्षित गरी चारकोठे, एकतले भवन निर्माण गरी हस्तान्तरण गरेका हुन् । उनले आफ्ना पिता लक्ष्मीप्रसाद नेपाल र माता इश्वरादेवी नेपालको स्मृतिमा भवन निर्माण गरेको बताए । 

‘इश्वरा–लक्ष्मी पितृ भवन निर्माण गरेर मैले आमाबाबुको स्मृतिमा भवन हस्तान्तरण गरेको हुँ,’ उनले भने, ‘मेरो काम भनेको निर्माण गर्ने मात्रै हो, अब यसको सही सदुपयोग गर्न तपाईँहरू जुट्नुपर्छ ।’

उनले कूल ४२ लाख ४० हजार ७७ रुपैयाँ लागतमा उक्त भवन निर्माण गरेको बताए ।

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले नेपालले गरेको उक्त कामको प्रशंसा गरे । ‘अहिले बैँकले पनि ऋण दिन नसक्ने अवस्थामा उहाँले बुबाआमाको नाममा भवन निर्माण गर्नु उदाहरणीय काम हो,’ श्रेष्ठले भने, ‘आजसम्म गरेको पूण्य कामको उदाहरणीय व्यक्ति उहाँ हुनुहुुन्छ ।’

tanka (1)

धार्मिक क्रियाकलाप गर्ने उदेश्यले निर्माण भएको राधाकृष्ण मन्दिर परिसरमा किरियापुत्रीका लागि र घरकोठामा बस्नेहरूका लागि भवन निर्माणले सहज हुने बताए । कार्यक्रममा नयाँ वृन्दावन गौशालाका प्रमुख दिनबन्धु शास्त्रीले अहिलेको समयमा पूण्य काम गर्ने मानिस भेट्न मुस्किल पर्ने भन्दै नेपालले गरेको काम सराहनीय रहेको तर्क गरे ।

कार्यक्रममा पोषराज नेपालले आवाजबिहीनलाई लक्षित गर्दै यो क्षेत्रमा भवन निर्माण गरेको बताए ।

उनले भने, ‘आवाजबिहीन मानिसले पनि यहाँ आएर सेवा उपभोग गर्न पाउन् । यो क्षेत्रलाई सहयोग र भरोसा पुगोस् भन्ने उदेश्यले भवन निर्माण गरिएको हो ।’

राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बलराम कार्कीलाई भवनको चाबी हस्तान्तरण गरिएको थियो ।

उक्त भवनमा कोठाभाडामा बस्ने तथा समस्यामा परेका मानिसहरूको परिवारका सदस्यको निधन भएमा किरिया बस्न प्रयोग गरिने बताइएको छ ।