कतारः कतार विश्वकपको आधा समयभन्दा बढी बितिसक्दा गुमनाम पोर्चुगलका गोन्कालो रामोसले अकस्मात् विश्व फुटबलमा आफ्नो नाम बनाएका छन् ।

स्विट्जरल्यान्डविरुद्धको प्रिक्वाटरफाइनलमा विश्वका सर्वश्रेष्ठ स्ट्राइकर मानिएका क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेल्न मौका पाएका रामोसले आफ्नो पहिलो खेलमै ह्याट्रिक गरे। २१ वर्षीय रामोस यस विश्वकपमा ह्याट्रिकको गौरव हासिल गर्ने पहिलो खेलाडी बनेका छन् ।  रामोसको ह्याट्रिकको सहयोगमा पोर्चुगलले स्विट्जरल्यान्डलाई सजिलै ६–१ ले हराएर क्वाटरफाइनलमा स्थान बनायो।

रोनाल्डो विश्वकै सबभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् ।  त्यसैले रामोसले पनि स्विट्जरल्यान्डविरुद्ध खेल्नेछु भन्ने सोचेका थिएन। “नकआउट चरणमा मैले पहिलो रोजाइमा खेल्न पाउँछु भन्ने सपनामा पनि सोचेको थिइनँ,” म्यान अफ दी म्याचको पुरस्कार ग्रहण गर्दै रामोसले भने ।

गत महिना विश्वकपको टिममा परेका रामोसले यसअघि पोर्चुगलका लागि कहिल्यै पनि नियमित ११ मा खेलेका छैन। २६ सदस्यीय टिममा उनलाई २६ नम्बरको जर्सी दिइएको थियो। यस विश्वकपमा समूह चरणअन्तर्गत घाना र उरुग्वेविरुद्धको खेलमा रामोसले अन्तिम समयमा स्थानापन्न खेलाडीका रूपमा मैदान छिरेर केही मिनेट मात्र खेल्न पाएका थिए । दुवै खेलमा उनले एक पटक पनि विपक्षीको गोलपोस्टमा निशाना बनाउन सकेका थिएनन् । 

स्विट्जरल्यान्डविरुद्धको खेलपछि भने रामोस विश्वले चिन्ने नाम भएको छ। “आजको खेलअघि विश्वका धेरैले रामोसको बारेमा सुनेका पनि थिएनन्। अहिले उनी विश्वचर्चित बनेका छन्,” पोर्चुगलका मिडफिल्डर बु्रनो फर्नान्डेजको भनाइ छ।

रामोसको असाधारण प्रदर्शनका कारण राष्ट्रिय टिममा रोनाल्डोको स्थान पहिलो पटक खतरामा देखिएको छ। रामोसले खेलको १७औँ मिनेटमै गोल गरी पोर्चुगललाई अगाडि पारेका थिए ।  त्यसपछि खेलको ५१औँ मिनेटमा बु्रनो फर्नान्डेजको पासमा र ६७औँ मिनेटमा जोआवो फेलिक्सको सहयोगमा गोल गरी रामोसले इतिहास बनाए ।  प्रशिक्षक सान्तोसले पोर्चुगलको टिममा रोनाल्डोभन्दा रामोस प्रभावकारी छन् भनेका छन् । 

“रोनाल्डो मैदानमा आफ्नो क्षेत्रमा मात्र धेरै खेल्छन् तर रामोस निकै लचिलो छन्।  अन्य साथी खेलाडीसँग सजिलै तालमेल मिलाउन सक्छन्,” प्रशिक्षक सान्तोसले भनेका छन् । रामोसले राफेल ग्वेरेरियोले गरेको चौथो गोलमा सहयोगीको भूमिका पनि निर्वाह गरेका थिए । पोर्चुगलका लागि अन्य गोल डिफेन्डर पेपे र स्थानापन्न खेलाडी लियाओबाट आयो। खेलको ७४औँ मिनेटमा रामोसलाई रोनाल्डोले स्थानापन्न गरेका थिए  । रोनाल्डोले खेल सकिएपछि रामोसलाई अँगालोमा बाँधेर बधाई दिए । रोनाल्डोको यो अन्तिम विश्वकप मानिएको छ।

मोरक्को अगाडि बढ्दै

उपाधि दाबेदार मानिएको स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले हराएर मोरक्को विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने पहिले अरबी देश बनेको छ। विश्वकप फुटबल पहिलो पटक अरब देशमा आयोजना हुँदै छ। यसैगरी मोरक्को विश्वकप फुटबल इतिहासमै  क्वाटरफाइनलमा पुग्ने अफ्रिकाको चौथो राष्ट्र बनेको छ। यसअघि सेनेगल, क्यामरुन र घानाले विश्वकपको क्वाटरफाइनल खेलिसकेका छन्। 

यद्यपि अहिलेसम्म अफ्रिकी टिमले विश्वकपको सेमिफाइनल खेल्न सकेको छैन। मोरक्को यस विश्वकपको अन्तिम आठमा पुग्ने युरोप र दक्षिण अमेरिकी राष्ट्रबाहेकको एकमात्र टिम हो। स्पेन र मोरक्कोबीचको निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो। स्पेनमै जन्मेका मोरक्कोका स्ट्राइकर असरफ हाकिमीले विजयी पेनाल्टी प्रहार गरे। पेरिस सेन्ट जर्मेनका लागि खेल्ने हाकिमी म्याड्रिडमा जन्मिएका हुन् । यस टिममा आधाजति खेलाडी मोरक्कोमा जन्मेका होइनन्। 

मोरक्कोको जितमा गोलरक्षक यासिनी बोउनोउ नायक बने । उनी पनि स्पेनको सेभियासँग आबद्ध भएर व्यावसायिक फुटबल खेल्छन् ।  क्यानडामा जन्मेका यासिनीले स्पेनका दुई पेनाल्टी रोकेपछि मोरक्कोले इतिहास बनायो। यासिनीले कोर्लोस सोलर र कप्तान सर्जियो बुस्केटको पेनाल्टी प्रहार विफल पारेका थिए ।  पाब्लो सराबियाले पेनाल्टीमा प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्केको थियो। सुरुका तीनै पेनाल्टी विफल भएपछि मोरक्कोले अन्तिम पेनाल्टी प्रहार गर्नु परेन। स्पेनका प्रशिक्षक लुइस इनरिकेले मोरक्कोविरुद्धको खेलअघि आफ्ना खेलाडीहरूलाई आआफ्ना क्लबमा छँदा कम्तीमा एक हजार पटक पेनाल्टीको अभ्यास गर्न भनेको खुलासा गरेका थिए । तर स्पेनले पेनाल्टीमा एक गोल पनि गर्न सकेन।

चार वर्षअघि पछिल्लो संस्करणमा आयोजक रुससँग पेनाल्टी सुटआउटमै हारेपछि स्पेन बिदा भएको थियो। गत वर्ष भएको युरो च्याम्पियनसिपमा पनि स्पेन सेमिफाइनलमा विजेता इटालीसँग टाइब्रेकरमै स्तब्ध भएको थियो। मोरक्कोले सेमिफाइनलमा पुग्न शनिबार पोर्चुगलविरुद्ध खेल्नेछ। एपी