धरानः हिमालयन महायान देक्षेन क्षोलिङ गोन्पा (गुम्बा) धरान १८ मा ६ करोड ५० लाखमा निर्माण भएको लामा छात्राबास तथा धार्मिक सभाहल भवनको उद्घाटन गरिने भएको छ । उद्घाटन पछि भने १० करोड बज्र गुरु जप गरिेनेछ ।

शनिबार पत्रकार सम्मेलन गर्दै भवनको पुस १ गते उद्घाटन धार्मिक गुरुहरूबाट गरिने गोन्पाले जानकारी दिएको  छ । हिमालयन महायान क्षेदेन क्षोलिङ गोन्पाका अध्यक्ष ङावा लप्टु लामा शेर्पाले प्रदेश सरकार, सांसद विकास कोष, धरान नगर र वडा कार्यालयको सहयोगमा स्थापना भएको हो । 

उनका अनुसार प्रदेश सरकारबाट ३० लाख, सांसद विकास कोष १० लाख, धरान नगरको १० लाख र धरान १८ को वडाकार्यालयबाट ४ लाख ५० हजार प्राप्त भएको हो । उनले अन्य रकम भने गोन्पाका आजिवन सदस्यहरूबाट नै सङ्कलन भएको बताए । 

pp (4)

भवन हालसम्म ७५ प्रतिशत काम सम्पन्न भएको छ । भवन उद्घाटन पश्चात पुस २ गतेदेखि १० करोड बज्र गुरु जप अनुष्ठान गरिनेछ । अनुष्ठान पुस ११ गतेसम्म गरिनेछ । अनुष्ठान विश्वशान्ती तथा सकल जगत प्राणीको रक्षार्थ भारत मैसुर स्थित नामड्रोलिङ गोन्पाका सर्व परमपुज्य गुरु खेन्छेन छेवाङ ग्याम्छो रिम्पोक्षे, खेन्पो, दोर्जे लोपन एवम् लामा तथा बौद्ध दर्शनको अग्रज व्यक्तिहरुबाट गरिने गोन्पाका सचिव दातेन्जी शेर्पाले बताए । धार्मिक प्रवचनसहितको १० करोड बज्र गुरु जप दैनिक ७ सय जनाको सहभागितमा गरिने भएको बताए । मङ्सिर २९ गते गुरुहरूलाई इटहरीदेखि मोटरसाइकल ¥यालीसहित स्वागत गरिने आयोजकले जनाएको छ ।